वीरगंज, असार १२ —
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका कारण चितवनको होटल, रेस्टुरेन्ट तथा अन्य व्यवसायमा उल्लेख्य चहलपहल बढेको छ। महाधिवेशन अवधिमा स्थानीय बजारमा ५० करोड रुपैयाँभन्दा बढीको आर्थिक कारोबार भएको अनुमान गरिएको छ।
देशभरबाट चार हजारभन्दा बढी प्रतिनिधि, नेता, कार्यकर्ता तथा पाहुना चितवन पुगेपछि भरतपुर र सौराहाका अधिकांश होटल भरिभराउ भएका छन्। आवास, भोजन, यातायात तथा दैनिक उपभोग्य वस्तुको व्यापारमा समेत उल्लेखनीय वृद्धि भएको व्यवसायीहरूले बताएका छन्।
होटल व्यवसायीका अनुसार सामान्यतया अफ–सिजन मानिने समयमा पनि अधिकांश होटलको अकुपेन्सी ८० प्रतिशतभन्दा माथि पुगेको छ भने केही होटल पूर्ण रूपमा बुक भएका छन्। महाधिवेशनले पर्यटन र स्थानीय व्यापारलाई समेत सकारात्मक टेवा पुर्याएको व्यवसायीहरूको भनाइ छ।







