वीरगंज, १२ असार ।
बारा जिल्लाको जीतपुरसिमरा उपमहानगरपालिकामा सर्पदंशको कारण पुनः एकजना बालिकाको मृत्यु भएको छ ।
जीतपुरसिमरा–१४ मौलापुरमा बिषालु सर्पले डसेर बिहीवार राति पाँच वर्षीया दियान्सी राना मगरको मृत्यु भएको प्रहरीले जनाएको छ ।
घर अगाडि बसिरहेको अवस्थामा राति करिब ८ बजे सर्पले डसेको परिवारले जानकारी गराएका छन् । बालिकालाई उपचारका लागि वीरगंज लैजादै गर्दा बाटोमा मृत्यु भएको हो ।
बालिकाको शव राति नै घर ल्याइएको छ भने शुक्रवार बिहान प्रहरीलाई घटनावारे जानकारी गराइएको छ । रजघट्टास्थित प्रहरी चौकीका प्रहरी सहायक निरीक्षक दीपेन्द्र साहले घटनावारे जानकारी आएको बताएका छन् ।
स्थानीय कृष्ण बहादुर र दिपिका राना मगरकी छोरी दियान्सी जीतपुरसिमरा–१४ स्थित साना किसान शिक्षा सदनमा एलकेजीमा अध्ययनरत थिइन् । बालिकाको निधनपछी जीतपुरसिमराका निजी विद्यालयले शुक्रवार शोक बिदा दिएका छन् ।
एक हप्ता नबित्दै जीतपुरसिमरामा दुर्ई बालिकाले सर्पदंशबाट ज्यान गुमाउनु परेको छ । यसअघि असार ८ गते जीतपुरसिमरा–१५ डुमरवानास्थित डाँडाटोलकी चार वर्षीया बालिका सुप्रिना दोड्ढो सर्पले डसेर ज्यान गएको थियो ।
सर्पदंशका कारण एकै साता दुर्ई बालिकाको मृत्यु भएपछि उपमहानगरपालिकाले नगर अस्पतालमा सर्पदंश उपचार सेवा शुरू गर्न केन्द्र सरकारसँग आकस्मिक पहल थालेको छ ।
उपमहानगरपालिकाका जनस्वास्थ्य अधिकृत रवि कुमार भाष्करले शुक्रवार काठमाडौंको सिंहदरवारस्थित भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र टेकुस्थित इपिडेमियाँेलोजी तथा रोग नियन्त्रण महाशाखालाई छुट्टाछुट्टै पत्र लेख्दै सेवा सञ्चालनका लागि आवश्यक मार्गदर्शन, सहयोग, सहजीकरण र समन्वय गरिदिन अनुरोध गरेका हुन् ।






