बारा १२ असार । नेपाल–भारत सीमा सुरक्षा र अवैध भन्सार छली नियन्त्रणका लागि सक्रिय रहेको सशस्त्र प्रहरी बल, नेपालले बारा जिल्लाको सीमावर्ती क्षेत्रबाट ठूलो परिमाणमा प्रतिबन्धित समुद्री माछा बरामद गरेको छ।
सशस्त्र प्रहरी बल, नेपाल बि.ओ.पि. बरैनियाको टोलीले बिहीवार र शुक्रवार गरी दुर्ई दिनमा उक्त अवैध माछा बरामद गरी नष्ट गरेको हो ।
भारतबाट अवैध रूपमा नेपालतर्फ प्रतिबन्धित समुद्री माछा भित्र्याउन लागिएको भन्ने गोप्य र विशेष सूचना सशस्त्र प्रहरीलाई प्राप्त भएको थियो। सोही सूचनाका आधारमा बि.ओ.पि. बरैनियाका प्रमुख एवं सशस्त्र प्रहरी निरीक्षक सन्तोष चौलागाईँको कमाण्डमा एउटा विशेष टोली परिचालन गरिएको थियो।
तस्करहरूले भन्सार र सुरक्षा निकायको आँखा छल्नका लागि मुख्य सडकको प्रयोग नगरी बि.ओ.पि. बरैनियाको मातहतमा पर्ने छतवा र बरैनिया क्षेत्रका खेतका कच्ची बाटाहरू प्रयोग गरेका थिए। सुरक्षा टोलीले उक्त क्षेत्रमा कडा निगरानी र घेराबन्दी थापेपछि तस्करहरू माछा छाडेर फरार भएका थिए।
सशस्त्र प्रहरी टोलीले दुर्ई दिनको अवधिमा छतवा र बरैनिया क्षेत्रका विभिन्न स्थानबाट कुल २२० केजी अवैध समुद्री माछा बरामद गरेको छ। बरामद गरिएको उक्त माछाको नेपाली बजार मूल्य करिब ६९ हजार रुपियाँँ बराबर रहेको सशस्त्र प्रहरी बल बाराले जनाएको छ। नेपाल सरकारले स्वास्थ्य संवेदनशीलता र स्थानीय उत्पादनलाई संरक्षण गर्ने उद्देश्यले यस्ता समुद्री माछाको आयातमा प्रतिबन्ध लगाएको छ।
बरामद गरिएका माछाहरूलाई शुक्रवार नै बि.ओ.पि. बरैनियाको परिसर (पेरिमिटर) भित्र खाल्टो खनेर पुरिएको छ। नेपालको कानुनी प्रावधान अनुसार अवैध रूपमा भित्र्याइएका र स्वास्थ्यका लागि हानिकारक प्रमाणित हुन सक्ने खाद्य वस्तुहरूलाई सम्बन्धीत निकायको उपस्थितिमा नष्ट गर्नुपर्ने व्यवस्था छ।
पशु क्वारेन्टाइन कार्यालयका प्रतिनिधि, स्थानीय जनप्रतिनिधि तथा भद्रभलाद्मी, नेपाल प्रहरीका प्रतिनिधि, र स्थानीय सञ्चारकर्मी (पत्रकार) हरूको प्रत्यक्ष रोहवरमा माछालाई पूर्ण रूपमा नष्ट गरिएको सशस्त्र प्रहरी बल बाराले जानकारी दिएको छ।







