फिफा विश्वकप : बेल्जियम समूह ‘जी’ को विजेता बन्दै नकआउट चरणमा

1200x150_1200x150-01.jpg (1)

वीरगंंज , असार १३ –

फिफा विश्वकप फुटबलमा बेल्जियम समूह ‘जी’ को विजेता बन्दै नकआउट चरणमा प्रवेश गरेको छ। आज बिहान भएको खेलमा बेल्जियमले न्युजिल्यान्डलाई ५–१ गोलको फराकिलो अन्तरले पराजित गरेको हो। बेल्जियमका लागि ट्रोसार्डले दुई तथा केभिन डे ब्रुएना, रोमेलु लुकाकु र एलेक्सिस सेलेमेकर्सले एक–एक गोल गरे। न्युजिल्यान्डका एलिजाह जस्टले सान्त्वना गोल फर्काए।

समूह ‘जी’ कै अर्को खेलमा इजिप्ट र इरानले १–१ गोलको बराबरी खेले। इजिप्टका महमुद साबेरले पाँचौं मिनेटमा गोल गर्दै टोलीलाई अग्रता दिलाएका थिए भने इरानका रमिन रजाइनले १४औं मिनेटमा बराबरी गोल फर्काए। इरानले पेनाल्टीमा अवसर गुमाएको थियो भने इन्जुरी समयमा गरेको गोल अफसाइड भएपछि खेल बराबरीमा सकिएको हो।

समूह ‘जी’ मा बेल्जियम र इजिप्ट समान ५ अंकसहित क्रमशः पहिलो र दोस्रो स्थानमा छन्। इरान ३ अंकसहित तेस्रो स्थानमा रहे पनि नकआउट चरणमा पुग्ने सम्भावना कायमै छ भने न्युजिल्यान्ड प्रतियोगिताबाट बाहिरिएको छ।

यस्तै, समूह ‘एच’ मा स्पेनले उरुग्वेलाई १–० ले हराउँदै ७ अंकसहित समूह विजेता बनेर अन्तिम ३२ मा स्थान सुरक्षित गरेको छ। स्पेनका लागि खेलको ४२औं मिनेटमा एलेक्स बाएनाले गरेको गोल नै निर्णायक बन्यो।

समूहकै अर्को खेलमा केप भर्डे र साउदी अरेबियाबीच गोलरहित बराबरी भयो। तीनवटै खेल बराबरी खेलेको केप भर्डे ३ अंकसहित उपविजेता बन्दै पहिलो पटक विश्वकप खेलेकै संस्करणमा नकआउट चरणमा प्रवेश गर्न सफल भएको छ। दुई पटकको विश्व विजेता उरुग्वे २ अंकसहित तेस्रो तथा साउदी अरेबिया पनि २ अंकमै चौथो स्थानमा रहँदै समूह चरणबाटै बाहिरिएका छन्।

नकआउट चरणमा केप भर्डेले साविक विजेता अर्जेन्टिनाको सामना गर्नेछ। आज राति र भोलि बिहान विश्वकपमा थप ६ वटा खेल हुने तालिका छ।

सम्बन्धित पोस्टहरुः