वीरगंज, असार १३ —
सामाजिक सञ्जालमार्फत साम्प्रदायिक घृणा तथा द्वेष फैलाएको आरोपमा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
प्रहरीका अनुसार “जीवन ओली” नामक फेसबुक पेजमा मधेशी मूलका व्यक्तिलाई दुर्व्यवहार गरिएको देखिने भिडियो सार्वजनिक गरी जात, जाति तथा समुदायबीचको सामाजिक सद्भावमा खलल पुग्ने सामग्री प्रसारण गरिएको आरोपमा उनीहरूलाई रुकुम पश्चिमको मुसिकोट नगरपालिका–३ माछिमीबाट पक्राउ गरिएको हो।
पक्राउ पर्नेमा बाँफिकोट गाउँपालिका–३ का २८ वर्षीय डिल्लीबहादुर ओली, ३१ वर्षीय राजन केसी तथा कपिलवस्तुको कृष्णनगर नगरपालिका–४ स्थायी घर भई हाल मुसिकोट–१ मा पाउरोटी उद्योग सञ्चालन गर्दै आएका ३१ वर्षीय रघुबिर कोरी रहेका छन्।
उनीहरूमाथि सामाजिक सञ्जालमार्फत साम्प्रदायिक घृणा वा द्वेष फैलाउने तथा जातीय सद्भावमा खलल पुर्याउने कसुरमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






