वीरगंज, असार १३ —
वीरगंज भन्सार कार्यालयले चालू आर्थिक वर्षको पहिलो ११ महिनामा दुई खर्ब २१ अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन गरेको छ। यो कार्यालयलाई दिइएको दुई खर्ब ४९ अर्ब १९ करोड रुपैयाँको लक्ष्यको ८९ प्रतिशत हो।
कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टका अनुसार गत आर्थिक वर्षको सोही अवधिको तुलनामा चालू आवमा १७ अर्ब ९७ करोड रुपैयाँ अर्थात् करिब ९ प्रतिशत बढी राजस्व सङ्कलन भएको छ। गत वर्षको ११ महिनामा दुई खर्ब तीन अर्ब ८१ करोड रुपैयाँ राजस्व उठेको थियो।
यस्तै, चालू आर्थिक वर्षको ११ महिनामा वीरगंज नाका हुँदै आठ खर्ब ९० अर्ब सात करोड रुपैयाँ बराबरका वस्तु आयात भएका छन् भने ९९ अर्ब ६६ करोड रुपैयाँ बराबरका वस्तु निर्यात भएको कार्यालयले जनाएको छ। गत वर्षको सोही अवधिमा सात खर्ब ७० अर्ब रुपैयाँ बराबरको आयात र ९६ अर्ब ७२ करोड रुपैयाँ बराबरको निर्यात भएको थियो।






