कलैया, असार १४ –
बाराको कलैया उपमहानगरपालिकामा ११ हजार भोल्टको उच्च गतिको विद्युतीय तारबाट अचानक करेन्ट लाग्दा एक महिला गम्भीर घाइते भएकी छिन्।
प्रहरीका अनुसार शनिबार (असार १३ गते) राति करिब ९:३० बजेको समयमा कलैया उपमहानगरपालिका वडा नं. ५ घुसुकपुर बस्ने विनोद सर्राफकी ४५ वर्षीया श्रीमती सुनैना देवी आफ्नै घरको छतमा घुमिरहेकी थिइन्। सोही क्रममा घर नजिकैबाट गएको ११,००० भोल्टको विद्युतीय प्रसारण लाइनको तारबाट अचानक निजलाई कडा झट्का (करेन्ट) लागेको थियो।
करेन्ट लागेर गम्भीर बिरामी भएकी सुनैना देवीलाई तत्कालै उद्धार गरी उपचारका लागि वीरगन्जस्थित नेसनल मेडिकल कलेज (NMC) पुऱ्याइएको थियो। अस्पतालमा खटिएका प्रहरी कर्मचारीका अनुसार हाल उनको अवस्था मध्यम रहेको र अस्पतालमा घाइतेका श्रीमान् विनोद सर्राफ उपचारमा संलग्न रहेका छन्।
घटनाको जानकारी राति ११:०० बजे प्राप्त हुनासाथ अस्थायी प्रहरी पोष्ट बसपार्क, बाराबाट प्रहरी नायब निरीक्षक (सई) विमलेश यादवको कमाण्डमा एउटा टोली घटनास्थल तथा अस्पतालतर्फ खटिएको छ। प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएको छ।
बस्ती र घरकै छेउबाट लगिएका यस्ता उच्च भोल्टेजका नाङ्गो तारहरूका कारण सीमावर्ती क्षेत्रमा वर्षेनी यस्ता गम्भीर दुर्घटनाहरू हुने गरेका छन्, जसप्रति नेपाल विद्युत प्राधिकरण र स्थानीय प्रशासनले बेलैमा ध्यान दिनु जरुरी देखिएको छ।







