महानगरको गेटमा फोहोर थुपारेर विरोध, कार्यवाहक नगरप्रमुखद्वारा समाधान गर्न निर्देशन

1200x150_1200x150-01.jpg (1)

वीरगन्ज, असार १४ – वीरगन्ज महानगरपालिकामा सरसफाइ व्यवस्थापनको जिम्मा पाएको निजी कम्पनीका सरसफाइकर्मीहरूले तलब वृद्धिको माग गर्दै आइतबारदेखि आन्दोलन सुरु गरेका छन्। आन्दोलनका कारण महानगरको मुख्य बजार क्षेत्रको सरसफाइ प्रभावित बनेको छ।

आफ्ना मागप्रति कम्पनीले बेवास्ता गरेको भन्दै आक्रोशित सरसफाइकर्मीहरूले आइतबार वीरगन्जको मुख्य चोक घण्टाघर तथा वीरगन्ज महानगरपालिकाको मूल गेट अगाडि फोहोर थुपारेर कडा विरोध प्रदर्शन गरेका छन्। बजार क्षेत्रको मुख्य चोक र नियामक निकायको ढोकामै फोहोर थुप्रिँदा सर्वसाधारण र सेवाग्राही मारमा परेका छन्।

सहरी सरसफाइसँग जोडिएको यस घटनालाई वीरगन्ज महानगरपालिकाका कार्यवाहक नगरप्रमुख इम्तियाज आलमले गम्भीर रूपमा लिँदै विशेष निगरानी बढाउनुभएको छ। नगरको मुख्य चोक र महानगरको गेटमै फोहोर फालिएपछि उहाँले तत्कालै एक्सन लिनुभएको हो।

कार्यवाहक नगरप्रमुख आलमले सरसफाइको ठेक्का लिएका ठेकेदार शिव गुप्तालाई तत्काल कार्यालयमा झिकाएर सरसफाइकर्मीहरूले उठाएका जायज मागबारे गम्भीरतापूर्वक छलफल गर्न र संवादमार्फत यथाशीघ्र समस्याको समाधान खोज्न कडा निर्देशन दिनुभएको छ।

निर्देशन जारी गर्दै कार्यवाहक नगरप्रमुख आलमले भन्नुभयो, “सरसफाइकर्मीहरू र ठेकेदार कम्पनीबीचको आन्तरिक विवादका कारण नगरवासीले सास्ती भोग्नुपर्ने र सहर दुर्गन्धित हुने अवस्था आउनु हुँदैन। सहरको नियमित सरसफाइलाई सुचारु राख्न महानगरपालिकाले आवश्यक समन्वय र मध्यस्थता गरिरहेको छ।”

महानगरपालिकाले सरसफाइ जस्तो अत्यावश्यक सेवामा कुनै पनि बहानामा अवरोध आउन नदिन र सहरको वातावरण बिग्रिन नदिन आवश्यक पर्ने सबै कानुनी तथा प्रशासनिक कदम चाल्ने प्रतिबद्धता समेत व्यक्त गरेको छ। ठेकेदार कम्पनी र आन्दोलनरत पक्षबीच वार्ता गराई आजै साँझसम्ममा फोहोर उठाउने वातावरण बनाउन महानगरको टोली खटिएको बुझिएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः