सरसफाइकर्मीको माग सहमतिमा टुंगियो

1200x150_1200x150-01.jpg (1)

वीरगंज, १४ असार ।
वीरगंज महानगरपालिकाका सरसफाइकर्मी र फोहरमैला व्यवस्थापनको जिम्मा पाएको ठेकेदार कम्पनीबीच देखिएको विवाद समाधान भएको छ।
कार्यवाहक नगर प्रमुख इम्तियाज आलम तथा प्रमुख प्रशासकीय अधिकृत वसन्त बहादुर बोहोराको उपस्थितिमा भएको वार्तापश्चात आन्दोलनरत सरसफाइकर्मीहरू सम्पूर्ण आन्दोलनका कार्यक्रम फिर्ता लिई आजैदेखि काममा फर्कन सहमत भएको प्रेस सल्लाहकार सदाब हुसैनले जनाएका छन् ।
महानगरपालिकाको सभाहलमा जनप्रतिनिधि, वडाध्यक्षहरू र कर्मचारीहरूको रोहबरमा दुवै पक्षलाई सँगै राखेर गरिएको पहलले वीरगंजको फोहरमैला व्यवस्थापनमा देखिएको समस्यालाई निकास दिएको उनले जानकारी गराए ।
सहमति पत्रमा सरसफाइकर्मीहरूका जायज मागहरूलाई सम्बोधन गर्दै दीर्घकालीन व्यवस्थापनका बुँदाहरू समेटिएका छन् । जस अन्तर्गत मजदुरहरूको मुख्य चासोको विषय रहेको पारिश्रमिक भुक्तानीलाई व्यवस्थित बनाउन महिना व्यतित भएको ५ देखि १० गतेभित्र अनिवार्य रूपमा उपलब्ध गराउने प्रतिबद्धता ठेकेदार पक्षले जनाएको छ।
यसैगरी, दैनिक ८ घण्टा काम गरेबापत नेपाल सरकारले तोकेको न्यूनतम पारिश्रमिक सुनिश्चित गरिने, सोभन्दा बढी समय काम गर्ने सरसफाइकर्मीलाई नियमअनुसार ओभर टाइम (अतिरिक्त समय) को व्यवस्था मिलाइने र कामको सिलसिलामा कोही घाइते भएमा ठेकेदार पक्षबाटै प्राथमिक उपचार खर्च बेहोरिने सहमति भएको छ।
मजदुरहरूको आत्मसम्मान र कार्यस्थलको सुरक्षालाई उच्च प्राथमिकता दिँदै नाइके वा ठेकेदारका तर्फबाट कसैले पनि अभद्र व्यवहार गर्न नपाउने र फोहरमैला व्यवस्थापनका लागि आवश्यक पर्ने सम्पूर्ण सुरक्षा सामग्रीहरू समयमै ठेकेदार पक्षले उपलब्ध गराउनुपर्ने शर्त पारित गरिएको छ। साथै, प्राविधिक कारणवश नागरिकता नभएका तर नेपाली बालिक नागरिक रहेका रैथाने सरसफाइकर्मीहरूलाई कामबाट निष्कासन नगरिने मानवीय निर्णय समेत यस सहमतिमा समावेश गरिएको प्रेस सल्लाहकार हुसैनले बताए ।
सम्झौता पत्रमा ठेकेदार पक्षका तर्फबाट एन.के. इन्टरनेशनल मेनेजमेन्ट प्रा.लि. का संचालक शिव कुमार गुप्ता र आन्दोलनरत पक्षका तर्फबाट प्रतिनिधिहरू भुवाली मलिक, पिन्टु मलिक, चन्दन मलिक, किसन मलिक, चन्दा देवी, अखिलेश मलिक, विशाल मलिक तथा किसन मलिक (ड्राइभर)ले संयुक्त रूपमा हस्ताक्षर गरेका छन।
यस सहमतिसँगै नगरको सरसफाइ कार्य पुनः सुचारू हुने बताइन्छ ।
यसअघि आइतवार बिहान घण्टाघर चोक लगायत विभिन्न चोकका सडकमै फोहोर थुपारेर सफाइकर्मीहरुले प्रदर्शन गरेका थिए। महानगरपालिकाको कार्यालय अगाडि पनि फोहोर थुपारेर प्रदर्शन गरेका सरसफाई कर्माचारीहरूमाथि प्रहरीले हस्तक्षेप गरेको थियो ।

भर्खरै

सम्बन्धित पोस्टहरुः