वीरगंज, असार १५ —
असार १५ बितिसक्दा पनि मधेश प्रदेशमा धान रोपाइँ ४ दशमलव ३६ प्रतिशत मात्र भएको छ। भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका अनुसार कुल ३ लाख ८७ हजार ९३३ हेक्टर खेतीयोग्य क्षेत्रमध्ये हालसम्म १६ हजार ९११ हेक्टरमा मात्रै रोपाइँ सम्पन्न भएको छ।
महोत्तरीमा सबैभन्दा बढी ८ दशमलव १७ प्रतिशत रोपाइँ भएको छ भने धनुषा र बारामा ७–७ प्रतिशत, सिरहा र सप्तरीमा ५–५ प्रतिशत तथा सर्लाहीमा २ दशमलव ५ प्रतिशत रोपाइँ भएको मन्त्रालयले जनाएको छ। पर्सा र रौतहटमा भने चैते धान नकाटिएकाले रोपाइँ सुरु हुन सकेको छैन।
यसैबीच आज देशभर २३ औँ राष्ट्रिय धान दिवस तथा रोपाइँ महोत्सव ‘जलवायुमैत्री प्रविधि, धानमा आत्मनिर्भरता र समृद्धि’ भन्ने मूल नारासहित मनाइएको छ। किसानले हिलो खेल्दै, असारे गीत गाउँदै र दही–चिउरा खाएर धान दिवस मनाएका छन्।







