सडक निर्माणभन्दा पहिले ढल निकास गर्न माग

1200x150_1200x150-01.jpg (1)

वीरगंज – वीरगंज महानगरपालिका–११ रानीघाटस्थित कृषि औजार कारखानाअगाडिको मुख्य सडकमा नाला निर्माण नगरी सडक ढलान गर्न लागिएको भन्दै स्थानीय बासिन्दाले विरोध जनाएका छन् । मधेस सरकार अन्तर्गतको भौतिक पूर्वाधार विकास कार्यालयले सडक निर्माणको काम अघि बढाएपछि स्थानीयहरू निर्माणस्थलमैं पुगेर आपत्ति जनाएका हुन् ।

स्थानीयका अनुसार सामान्य वर्षा हुँदा पनि सडकमा पानी जम्ने समस्या वर्षौंदेखि रहेको छ । यस्तो अवस्थामा नाला निर्माण नगरी सडक मात्र ढलान गरिए समस्या झन् बढ्ने भन्दै उनीहरूले काम रोक्न माग गरेका छन् । उनीहरूले सडक निर्माणभन्दा पहिले प्रभावकारी ढल निकासको व्यवस्था गर्नुपर्ने बताएका छन् ।

भौतिक पूर्वाधार विकास कार्यालयले ४३ लाख २० हजार रुपैयाँको लागतमा वीरगंजस्थित मिश्र निर्माण सेवालाई सडक निर्माणको ठेक्का दिएको हो । ठेक्का सम्झौतामा सडकसँगै नाला निर्माण गर्ने उल्लेख भएपनि निर्माणस्थलमा नालाको काम नगरी सडक ढलानको तयारी गरिएको भन्दै स्थानीयले विरोध गरेका हुन् । यस विषयमा उनीहरूले वडाध्यक्ष अजय चौरासियासँग समेत स्पष्टीकरण माग गरेका छन् ।

स्थानीयका अनुसार विगतमा कालोपत्रे गरिएको सडकमा पुरानो पिच नउखाली त्यसैमाथि ढलान गर्ने तयारी भइरहेको छ । उनीहरूले कार्यालयका इन्जिनीयर र ठेकेदारबीचको मिलेमतोमा गुणस्तरहीन काम गर्न खोजिएको आरोप लगाएका छन् । पुरानो पिच उखेल्ने, ग्रेडिङ गर्ने, ग्राभेल बिछ्याउने र फलामे डन्डी राखेपछि मात्र ढलान गर्नुपर्ने प्राविधिक मापदण्ड रहेको उनीहरूको भनाइ छ ।

भौतिक पूर्वाधार विकास कार्यालयका प्राविधिक युवराज पटेलले भने ठेक्का सम्झौता अनुसार ठेकेदारले गुणस्तरीय निर्माण गर्नुपर्ने दायित्व रहेको बताए । उनले वडाध्यक्ष चौरसियाको समन्वयमैं निर्माण कार्य अघि बढाइएको जानकारी दिंदै सम्झौता अनुसार काम भए नभएको कार्यालयले अनुगमन गर्ने बताए ।

स्थानीयले भने नाला निर्माणसहित मापदण्ड अनुसार काम नभएसम्म निर्माण कार्य अघि बढ्न नदिने चेतावनी दिएका छन् ।

भर्खरै

सम्बन्धित पोस्टहरुः