वीरगंज, असार १५ –
धनुषामा प्रधानमन्त्री बालेन शाहलाई गोली प्रहार गर्ने धम्की दिएको आरोपमा दुई युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय धनुषाले मुखियापट्टी मुसहरनिया गाउँपालिकाका कमन यादव र सुधिर मुखियालाई एक थान पेस्तोल र दुई राउण्ड गोलीसहित नियन्त्रणमा लिएको हो।
प्रहरीका अनुसार दुवै जना मदिरा तथा लागूऔषधको नशामा सार्वजनिक स्थानमा प्रधानमन्त्रीविरुद्ध जथाभावी अभिव्यक्ति दिँदै हिँडेको सूचना प्राप्त भएपछि उनीहरूलाई पक्राउ गरिएको हो।
धनुषाका प्रहरी उपरीक्षक रुपेश खड्काले नशाको अवस्थामा उनीहरूले प्रधानमन्त्रीलाई लक्षित गर्दै धम्कीपूर्ण अभिव्यक्ति दिएको र त्यसपछि प्रहरीले तत्काल नियन्त्रणमा लिएको जानकारी दिए।
सामाजिक सञ्जालमा सार्वजनिक भएको एक भिडियोमा उनीहरूले “गाउँ विकास गर्छु भनेर भोट मागे पनि केही नगरेको” भन्दै प्रधानमन्त्रीविरुद्ध आक्रोश व्यक्त गरेको देखिन्छ।
भिडियोमा उनीहरू नशाको अवस्थामा रहेको पनि स्पष्ट देखिएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।






