सिमरामा दुर्घटना किशोरको मृत्यु, दुर्ई घाइते

1200x150_1200x150-01.jpg (1)

बारा, १५ असार । बाराको जितपुर सिमरा उपमहानगरपालिकामा ओभरटेक गर्ने क्रममा सवारी दुर्घटनामा परी एक १७ वर्षीय किशोरको मृत्यु भएको छ भने अन्य दुईजना घाइते भएका छन।
प्रहरीका अनुसार सोमवार (असार १५ गते) दिउँसो करिब ४ः१५ बजेको समयमा जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २ स्थित विमानस्थल (एयरपोर्ट) नजिकै सिमरा–डुमरवाना भित्री सडक खण्डमा उक्त दुर्घटना भएको हो।
डुमरवानाबाट सिमरा आउँदै गरेको ना २८ प ५८५५ नम्बरको स्कुटरले सोही दिशाबाट अगाडि गइरहेको प्र.२–०३–००१ त ३७७३ नम्बरको ट्रयाक्टरलाई ओभरटेक गर्न खोजेको थियो। सोही क्रममा विपरित दिशा (सिमराबाट डुमरवानातर्फ) जाँदै गरेको म.प्र.०३–०४१ प २२७४ नम्बरको मोटरसाइकलसँग स्कुटरको जोडदार ठक्कर भयो। ठक्कर खाएपछि अनियन्त्रित भएको स्कुटर गुडिरहेको ट्रयाक्टरको मुनि पस्न पुगेको थियो।
दुर्घटनामा गम्भीर घाइते भएका स्कुटर चालक पर्साको वीरगंज महानगरपालिका वडा नं. २९ बस्ने १७ वर्षीय लक्की सराफको टाउको, छाती र मुखमा गम्भीर चोट लागेको थियो। उनलाई तत्कालै उद्धार गरी सिमरास्थित सिटी स्टार अस्पतालमा प्राथमिक उपचार गरिएको थियो।
त्यसपछि थप उपचारका लागि एल.एस. न्युरो अस्पताल, परवानीपुर पठाइएकामा चिकित्सकले साँझ ६ः१५ बजे ईसीजी जाँच गरी उनलाई मृत घोषणा गरेका थिए। मृतकको शव हाल सोही अस्पतालमा रहेको छ।
स्कुटरको पछाडि सवार वीरगंज महानगरपालिका वडा नं. २ छपकैया बस्ने १७ वर्षीय दिलसाद देवान सामान्य घाइते भएका थिए। सिमरा नगर अस्पतालमा उपचार पश्चात उनी डिस्चार्ज भई इलाका प्रहरी कार्यालय सिमराको सम्पर्कमा रहेका छन।
मोटरसाइकल चालक जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २३ बस्ने २९ वर्षीय रइफुल आलम अन्सारीको दाहिने हात र खुट्टामा मध्यम चोट लागेको छ। सिटी स्टार अस्पतालमा सामान्य उपचारपछि उनलाई थप उपचारका लागि वीरगंज हेल्थकेयर अस्पताल रिफर गरिएको छ।
घटनास्थल इलाका प्रहरी कार्यालय सिमराबाट करिब १ किलोमिटर दक्षिण पर्दछ। दुर्घटनाको खबर पाउनासाथ इलाका प्रहरी कार्यालय सिमराबाट प्रहरी सहायक निरीक्षकविदुर नेपालीको कमाण्डमा ५ जनाको टोली र अस्थायी ट्राफिक प्रहरी पोष्ट सिमराबाट प्रहरी सहायक हवलदार कमलेश साहको कमाण्डमा २ जनाको टोली तत्कालै खटिएको थियो।
प्रहरी टोलीले दुर्घटनामा परेका तीनै वटा सवारी साधन (स्कुटर, मोटरसाइकल र ट्रयाक्टर) लाई नियन्त्रणमा लिएको छ। साथै, ट्रयाक्टर चालक जितपुर सिमरा उपमहानगरपालिका वडा नं. ४ औराहा निवासी ७० वर्षीय शिवराज चौधरीलाई नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालय सिमरामा राखिएको छ। प्रहरीले घटनावारे थप कानुनी अनुसन्धान अगाडि बढाएको जनाएको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः