वीरगंज, असार १६ —
मधेश प्रदेश प्रहरी प्रमुख प्रहरी नायव महानिरीक्षक ओमप्रसाद अधिकारीले जिल्ला प्रहरी कार्यालय बाराको निरीक्षण तथा अनुगमन गर्दै शान्ति–सुरक्षा व्यवस्थापनलाई थप प्रभावकारी बनाउन निर्देशन दिएका छन्।
सोमबार जिल्ला प्रहरी कार्यालय कलैयामा आयोजित निर्देशनात्मक कार्यक्रममा उनले नागरिकमैत्री, छिटो, निष्पक्ष र पारदर्शी प्रहरी सेवा प्रवाह गर्न, प्रहरीको अनुशासन, आचरण र व्यावसायिकता अभिवृद्धि गर्न जोड दिए। उनले सीमा क्षेत्रमा हुने तस्करी, भन्सार चोरी निकासी तथा अन्य गैरकानुनी गतिविधिविरुद्ध प्रभावकारी रूपमा परिचालन हुन तथा अपराध अनुसन्धानलाई थप सुदृढ बनाउन निर्देशन दिए।
निरीक्षणका क्रममा उनले कार्यालयका विभिन्न शाखा, हिरासत, व्यारेक, मेस, क्यान्टिन तथा सेवा प्रवाहको अवस्थाको अनुगमन गरेका थिए। साथै, प्रहरी संगठनप्रतिको जनविश्वास बढाउन प्रत्येक प्रहरी कर्मचारीले इमान्दारिता, अनुशासन, सेवाभाव र कानुन कार्यान्वयनप्रति प्रतिबद्ध रहनुपर्नेमा उनले जोड दिए।






