इन्धन अभावबारे वीरगंजका पेट्रोल पम्पमा प्रशासनको छड्के अनुगमन

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार १७ —

नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटाएलगत्तै वीरगंजका अधिकांश पेट्रोल पम्पमा इन्धन अभाव देखिएपछि जिल्ला प्रशासन कार्यालय पर्साले छड्के अनुगमन गरेको छ।

नेपाल आयल निगमले मंगलबार रातिदेखि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर २० रुपैयाँ, डिजेलमा ३० रुपैयाँ तथा एलपी ग्यासमा प्रतिसिलिन्डर १०० रुपैयाँ मूल्य घटाएको थियो। त्यसपछि वीरगंजका अधिकांश निजी पेट्रोल पम्पले पेट्रोल र डिजेल सकिएको भन्दै बिक्री बन्द गरेका थिए।

उपभोक्ताबाट कृत्रिम अभाव सिर्जना गरिएको गुनासो आएपछि प्रमुख जिल्ला अधिकारी भोला दाहाल प्रहरी टोलीसहित बुधबार पम्पहरूको अनुगमनमा पुगेका थिए। अनुगमनका क्रममा १२ मध्ये दुई वटा पेट्रोल पम्प मात्र सञ्चालनमा रहेको र बाँकी १० वटा पम्पले मौज्दात सकिएको तथा आयल निगमबाट समयमै आपूर्ति नभएको कारण देखाएका थिए।

प्रमुख जिल्ला अधिकारी दाहालले पम्प सञ्चालकलाई पर्याप्त मौज्दात कायम राख्न र उपभोक्तालाई सास्ती हुने गरी कृत्रिम अभाव सिर्जना नगर्न निर्देशन दिएका छन्। साथै आयल निगमबाट नियमित आपूर्ति भइरहेका बेला भविष्यमा यस्ता गतिविधि दोहोरिए आवश्यक कारबाही गरिने चेतावनी पनि दिएका छन्।

सम्बन्धित पोस्टहरुः