बारा, १८ असार – बाराको महागढिमाई नगरपालिका-९, प्रिपरा बिर्तामा चट्याङ लागेर एक बालिकाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छन्।
गत असार १७ गते बिहीबार साँझ करिब ५:०० बजेको समयमा खेतबाट घरतर्फ फर्किरहेको अवस्थामा अचानक परेको चट्याङले उनीहरूलाई लागेको थियो। चट्याङका कारण प्रिपरा बिर्ता बस्ने कपिल देव साहकी १२ वर्षीया छोरी सन्जना कुमारी दासको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
सोही घटनामा परी घाइते भएकी सोही स्थानकी ३० वर्षीया सरिता देवी दासलाई उपचारका लागि तत्काल प्रादेशिक अस्पताल, कलैया लगिएको थियो। अस्पतालमा खटिएका प्रहरी कर्मचारीले सोही दिन राति ९:०४ बजे घटनाबारे जानकारी गराएपछि जिल्ला प्रहरी कार्यालय बाराबाट प्रहरी निरीक्षक विमल खतिवडाको कमाण्डमा प्रहरी टोली र प्रहरी चौकी तेलकुवाबाट समेत टोली घटनास्थल पुगेको थियो।
प्रहरीले घटनास्थलको प्रारम्भिक अनुसन्धान तथा कानुनी प्रक्रिया पूरा गरी फर्किएको छ। सामान्य उपचारपछि घाइते सरिता देवी दास अस्पतालबाट डिस्चार्ज भई घर फर्किसकेकी छन्।







