सर्लाही, १८ असार । सर्लाही प्रहरीले छिमेकीको हत्या गरेको आरोपमा बसबरिया गाउँँपालिका १ मानपुरका २५ वर्षीय सन्तोषकुमार रायलाई पक्राउ गरी सार्वजनिक गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सर्लाहीले बिहीवार पत्रकार सम्मेलनमार्पत सार्वजनिक गरेको घटनावारे प्रहरीका अनुसार रायले आफ्नै छिमेकी ५३ वर्षीय होसनारायण राय यादवको धारिलो हतियार (हसिया) प्रहार गरी हत्या गरेका हुन् ।
असार ७ गते राति भैंसी गोठमा सुतिरहेका यादवमाथि घाँटीमा हसियाले प्रहार गरिएको थियो । गम्भीर घाइते भएका उनलाई उपचारका लागि अस्पताल लगिए पनि चिकित्सकले मृत घोषणा गरेका थिए ।
सर्लाही प्रहरी प्रमुख एसपी रवीन्द्रनाथ पौडेलका अनुसार प्रारम्भिक अनुसन्धानमा रायले आफ्नै बुबा र भिनाजुलाई फसाउने उद्देश्यले हत्या गरेको स्वीकार गरेका छन् । घटनास्थल आसपासका सीसीटीभी फुटेजको अध्ययनपछि उनीमाथि शंका केन्द्रित भएको थियो भने घटनापछि फरार रहेका उनलाई असार १६ गते बरहथवा नगरपालिका ७ बाट पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
प्रारम्भिक सोधपुछका क्रममा रायले मोबाइल खरिदका लागि पैसा माग्दा बुबासँग विवाद भएको र परिवारका सदस्यले सुधार केन्द्र पठाइदिने धम्की दिँदै आएको कारण उनीहरूप्रति आक्रोश बढेको बताएका छन् ।
अनुसन्धानका क्रममा घटनाकै राति चोरी भएको ना४५प २६८५ नम्बरको मोटरसाइकल असार ८ गते लालबन्दी नगरपालिका २ नवलपुर क्षेत्रमा बेवारिसे अवस्थामा फेला परेको थियो । उक्त मोटरसाइकल छिमेकी हरिन्द्रराम यादवको रहेको र अभियुक्तले हत्या गर्न प्रयोग गर्नकै लागि आफैं चोरी गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले रायविरूद्ध कर्तव्य ज्यान तथा चोरीसम्बन्धी मुद्दा दर्ता गरी सर्लाही जिल्ला अदालतबाट सात दिनको म्याद थप अनुमति लिई अनुसन्धान अघि बढाएको जनाएको छ ।







