वीरगंज, असार १८ –
कर्णाली प्रदेश सरकारले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गरेको आधा महिना बितिसक्दा पनि आर्थिक मामिला तथा योजना मन्त्रालयले रातो किताब सार्वजनिक नगरेपछि बजेट प्रक्रिया विवादमा परेको छ।
प्रतिपक्षी दलहरूले रातो किताबबिनै बजेट पारित गर्न खोजिएको भन्दै प्रदेश सभा अवरुद्ध गरेका छन्। असार १ गते बजेट प्रस्तुत भए पनि मन्त्रालयगत बजेट र योजनाको विस्तृत विवरण समेटिएको रातो किताब अझै सांसदलाई उपलब्ध गराइएको छैन।
अर्थ मन्त्रालयले रातो किताब छपाइका लागि काठमाडौं पठाइएकाले ढिलाइ भएको जनाएको छ। यता, सत्ता पक्ष बजेट यथावत् पारित गर्ने पक्षमा रहे पनि विपक्षीले कमजोरी सच्याउने सुनिश्चितता नभएसम्म बजेट पारित हुन नदिने अडान लिएको छ। सर्वदलीय छलफल जारी रहे पनि सहमति जुट्न सकेको छैन।







