वीरगंज, असार १८ –
सरकारले आफ्नो १०० दिने कार्यसम्पादन अवधिमा सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन सूचना तथा सञ्चार क्षेत्रमा विभिन्न सुधारका काम अघि बढाएको जनाएको छ। शासकीय सुधार कार्ययोजनाअन्तर्गत प्रशासनिक प्रक्रिया सरलीकरण, डिजिटल सेवा विस्तार र नागरिकलाई छिटो सेवा उपलब्ध गराउने अभियानलाई प्राथमिकतामा राखिएको सरकारको दाबी छ।
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका अनुसार राहदानी, सवारी चालक अनुमतिपत्रलगायत सरकारी कागजात ‘गभर्मेन्ट कुरियर’ सेवामार्फत घरमै पुर्याउने व्यवस्था विस्तार गरिएको छ। साथै हुलाक सेवाको आधुनिकीकरण, सात अङ्के पोस्टल कोड लागू गर्ने तयारी र स्मार्ट हुलाक प्रणाली विकासको काम पनि अघि बढाइएको छ।
नेपाल टेलिकमले इ–सिम, नयाँ डाटा प्याक, अनलाइन गुनासो व्यवस्थापन तथा स्वचालित नवीकरण हुने सेवाहरू सञ्चालनमा ल्याएको जनाएको छ। यस्तै, स्मार्ट लाइसेन्स छपाइलाई तीव्र बनाउनुका साथै सूचना प्रविधि र कृत्रिम बौद्धिकता सम्बन्धी कानुनी संरचना निर्माणको प्रक्रिया पनि अगाडि बढाइएको सरकारको भनाइ छ।
सरकारले यी कार्यक्रममार्फत नागरिकलाई सहज, पारदर्शी र प्रविधिमैत्री सेवा उपलब्ध गराउने लक्ष्य राखेको जनाएको छ।






