वीरगंज, १९ असार ।
बारा जिल्लाको पचरौता नगरपालिका–८ बाझोपट्टी मन्दिरमा ग्रिल जडान गर्ने क्रममा ११ हजार भोल्टको करेन्ट लाग्दा एकजना कामदार घाइते भएका छन् ।
शुक्रवार बिहान करिब १० बजे ग्रिल जडान गर्ने क्रममा सिम्रौनगढ नगरपालिका–३ नयाकाटोल निवासी ३८ वर्षीय रामलाल पटेलको टाउकोमा माथिबाट गएको उच्च भोल्टेजको विद्युत तार छोएपछि करेन्ट लागेर गम्भीर घाइते भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घटनाको जानकारी प्राप्त हुनासाथ अस्थायी प्रहरी पोस्ट लंगडाचौकबाट प्रहरी सहायक निरीक्षक थिरबहादुर बस्नेतको नेतृत्वमा प्रहरी टोली घटनास्थलमा खटिएको थियो । घाइते पटेललाई तत्काल प्रादेशिक अस्पताल कलैयामा सामान्य उपचारपछि वीरगंजस्थित अस्पतालमा रिफर गरिएको प्रहरीले जनाएको छ।







