वीरगंज, १९ असार ।
प्रहरी चौकी इनर्वाबाट खटिएको प्रहरी टोलीले वीरगंज–१६ रजतजयन्ती चोकबाट लागू औषध ब्राउन सुगरसहित तीन जना युवकलाई पक्राउ गरेको छ ।
शुक्रवार दिउँसो भारतको रक्सौलबाट वीरगंज आउँदै गरेको ना ४० प ९१६० नम्बरको मोटरसाइकलमा सवार वीरगंज महानगरपालिका वडा नम्बर १ छपकैयाका २५ वर्षीय अरविन्द ओझा र २८ वर्षीय मुकेश कुशवाहाको साथबाट ३३० मिलिग्राम ब्राउन सुगर बरामद भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
यस्तै रजतजयन्ती चोकबाट बिहीवार राति प्रहरी चौकी इनर्वाको टोलीले नियमित चेकजाँचका क्रममा रक्सौलबाट पैदल वीरगंज आइरहेका पर्साको जगरनाथपुर गाउँपालिका वडा नम्बर ५ चिलझपटीका २२ वर्षीय राजन साहलाई १६ मिलिग्राम ब्राउन सुगरसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
पक्राउ परेका तीनै जनालाई प्रहरी हिरासतमा राखेर कानूनी कारबाही प्रकृया अगाडि बढाइएको प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी गराएका छन् ।






