वीरगंज, असार २० –
वीरगंज महानगरपालिका वडा नं. ३ को आयोजना तथा हेल्पिङ्ग युथ क्लब र नेपाल रेडक्रस सोसाइटीको सहकार्यमा शनिबार रक्तदान कार्यक्रम सम्पन्न भएको छ।
वडाध्यक्ष बैजुलाल स्वर्णकारको अध्यक्षतामा आयोजित कार्यक्रममा २५ जनाभन्दा बढी स्थानीय युवाले स्वेच्छिक रूपमा रक्तदान गरेका थिए। कार्यक्रममा वडा सदस्य, वडा कार्यालयका कर्मचारी तथा स्थानीयको उल्लेखनीय सहभागिता रहेको थियो।
कार्यक्रमलाई सम्बोधन गर्दै वडाध्यक्ष स्वर्णकारले रगतको अभावमा कसैले पनि ज्यान गुमाउन नपरोस् भन्ने उद्देश्यले रक्तदान कार्यक्रम आयोजना गरिएको बताए। उनले रक्तदाता तथा सहयोगी संस्थाप्रति आभार व्यक्त गर्दै आगामी दिनमा पनि यस्ता सामाजिक कार्यक्रमलाई निरन्तरता दिइने जानकारी दिए।







