रिलायन्स सुगर मिलको प्रदूषण छानबिन गर्न माग

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २० –

बाराको कलैया उपमहानगरपालिका–२४ श्रीपुरस्थित रिलायन्स सुगर मिल्सबाट बँगरी नदी र आसपासको वातावरण प्रदूषित भएको भन्दै स्थानीयवासी तथा समाजसेवीहरूले जिल्ला प्रशासन कार्यालय बारामा ज्ञापनपत्र बुझाएका छन्।

ज्ञापनपत्रमा उद्योगले प्रशोधन नगरी फोहोर पानी नदीमा मिसाएको तथा धुवाँ, धुलो र दुर्गन्धका कारण जनस्वास्थ्य, कृषि, पशुपालन र वातावरणमा नकारात्मक असर परेको उल्लेख गर्दै तत्काल छानबिन, पानी तथा हावाको गुणस्तर परीक्षण, स्वास्थ्य शिविर सञ्चालन र उद्योगमाथि आवश्यक कानुनी कारबाही गर्न माग गरिएको छ।

ज्ञापनपत्र बुझ्दै सहायक प्रमुख जिल्ला अधिकारी छबिरमण भट्टराईले सोमबार प्राविधिक टोलीसहित रिलायन्स सुगर मिल्सको स्थलगत अनुगमन गरी आवश्यक सुधारका लागि उद्योग प्रशासनलाई निर्देशन दिइने बताए।

ज्ञापनपत्र बुझाउन समाजसेवी हिरामती आर्य (कुशवाहा), फेटा गाउँपालिकाका अध्यक्ष रुस्तम अन्सारी, आत्माराम साह, रामचन्द्र प्यासी, जयप्रकाश दास, सुशील साहलगायत सहभागी थिए। कार्यक्रममा जिल्ला प्रहरी कार्यालय बारा र सशस्त्र प्रहरीका प्रतिनिधिहरूको पनि उपस्थिति रहेको थियो।

भर्खरै

सम्बन्धित पोस्टहरुः