वीरगंज, असार २० –
पर्साको बहुदरमाई नगरपालिका–३ मा पद्मौल प्रिमियर लिग क्रिकेट प्रतियोगिता सुरु भएको छ। रास्वपा पर्सा क्षेत्र नं. ३ का क्षेत्रीय सभापति प्रदीप जैसवालको सहयोगमा आयोजित प्रतियोगिताको उद्घाटन जैसवालले गरेका हुन्।
प्रतियोगिताका आयोजक विशाल कुमार यादवका अनुसार अन्डर–१५ वर्षमुनिका खेलाडीबीच सञ्चालन हुने प्रतियोगितामा प्रत्येक खेल १६ ओभरको हुनेछ। प्रतियोगितामा प्रत्येक टोलीले बाहिरका दुई जना खेलाडी समावेश गर्न पाउने व्यवस्था गरिएको छ भने अम्पायरको निर्णय अन्तिम हुने र अम्पायरसँग विवाद गर्ने टोलीलाई प्रतियोगिताबाट बाहिर गरिने नियम राखिएको छ।
प्रतियोगितामा सहभागी हुन प्रत्येक टोलीका लागि प्रवेश शुल्क दुई हजार रुपैयाँ निर्धारण गरिएको छ। विजेता टोलीले कप, नगद दुई हजार रुपैयाँ, मेडल र ब्याट प्राप्त गर्नेछ भने उपविजेता टोलीलाई कप र मेडल प्रदान गरिनेछ।
त्यस्तै उत्कृष्ट ब्याट्सम्यानलाई कप तथा उत्कृष्ट बलरलाई एक डिब्बा क्रिकेट बल पुरस्कारस्वरूप प्रदान गरिने आयोजकले जनाएको छ। प्रतियोगिताले स्थानीय बाल खेलाडीको प्रतिभा उजागर गर्नुका साथै क्रिकेटप्रति आकर्षण बढाउने विश्वास आयोजकले व्यक्त गरेका छन्।






