धनुषा, २० असारः मधेस प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले संविधानको प्रभावकारी कार्यान्वयन, विधिको शासनको सुदृढीकरण तथा नागरिकलाई सहज र गुणस्तरीय न्याय सुनिश्चित गर्न राज्यका सबै निकायबीच समन्वय, सहकार्य र निरन्तर संवाद आवश्यक भएको बताउनुभएको छ ।
मुख्य न्यायाधिवक्ताको कार्यालयद्वारा आज जनकपुरधाममा आयोजित तथा उच्च अदालत जनकपुरको सहकार्यमा सम्पन्न ‘समसामयिक तथा संवैधानिक कानुनी सवालमा छलफल’मा उहाँले सङ्घीय लोकतान्त्रिक गणतन्त्रको सफल कार्यान्वयनका लागि संविधानको मर्मअनुसार कानुनी व्यवस्थाको प्रभावकारी कार्यान्वयन अपरिहार्य भएकामा जोड दिनुभयो ।
मधेस प्रदेशका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोले संविधान र कानुनको प्रभावकारी कार्यान्वयनबाट मात्र सुशासन, विधिको शासन तथा नागरिकको न्यायप्रतिको विश्वास सुदृढ हुने बताउनुभयो ।
उच्च अदालत जनकपुरका कायममुकायम मुख्य न्यायाधीश टेकनारायण कुँवरले संविधान गतिशील दस्तावेज भएकाले त्यसमा समयानुकूल परामर्जन असान्दर्भिक नहुने धारणा व्यक्त गर्नुभयो ।
मुख्य न्यायाधिवक्ता सुनिलरञ्जन सिंहले प्रदेश सरकारसँग सम्बन्धित संवैधानिक तथा कानुनी विषयमा देखिने जटिलताको समाधानका लागि सम्बन्धित निकायबीच छलफल आवश्यक छ भन्नुभयो ।
त्यस अवसरमा उच्च अदालतका न्यायाधीश, जिल्ला न्यायाधिवक्ता, सरकारी वकिल, कानुनका जानकार, प्रदेश सरकारका सचिव, विभिन्न मन्त्रालयका कानुन अधिकृत तथा सरोकार भएका निकायका प्रतिनिधिको सहभागिता थियो ।






