असारको १८ दिनमै मधेश प्रदेश सरकारको साढे ३ अर्बभन्दा बढी खर्च

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २१ –

मधेश प्रदेश सरकारले चालु आर्थिक वर्षको अन्तिम महिना असार लागेपछि बजेट खर्चमा तीव्रता दिएको छ। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार असारको पहिलो १८ दिनमै सरकारले ३ अर्ब ३२ करोड रुपैयाँभन्दा बढी खर्च गरेको छ।

कार्यालयको तथ्याङ्कअनुसार असार १८ गतेसम्म प्रदेश सरकारले कुल १३ अर्ब २९ करोड ६६ लाख रुपैयाँ खर्च गरेको छ, जुन कुल विनियोजित बजेटको २८.३० प्रतिशत हो। जेठ मसान्तसम्म खर्च ९ अर्ब ९७ करोड रुपैयाँ अर्थात् २१.२४ प्रतिशतमा सीमित रहेको थियो।

हालसम्म चालुतर्फ ६ अर्ब ७२ करोड ८८ लाख रुपैयाँ (४३.०२ प्रतिशत) तथा पुँजीगततर्फ ६ अर्ब ५६ करोड ७८ लाख रुपैयाँ (२०.९६ प्रतिशत) बजेट खर्च भएको छ। जेठ मसान्तसम्म चालुतर्फ ३६.२२ प्रतिशत र पुँजीगततर्फ १३.७६ प्रतिशत मात्रै खर्च भएको थियो।

आर्थिक वर्षको अन्त्यतिर हुने ‘असारे खर्च’ पुनः दोहोरिएपछि बजेट कार्यान्वयनको प्रभावकारिता र खर्चको गुणस्तरमाथि प्रश्न उठ्न थालेको छ। सार्वजनिक वित्त व्यवस्थापनका जानकारहरूले हतारमा गरिने खर्चले विकास आयोजनाको गुणस्तर र पारदर्शितामा असर पार्न सक्ने भन्दै सुधारको आवश्यकता औँल्याएका छन्।

मन्त्रालयगत खर्चतर्फ अर्थ मन्त्रालयले सबैभन्दा बढी ५३.७१ प्रतिशत बजेट खर्च गरेको छ भने खेलकुद तथा समाज कल्याण मन्त्रालय सबैभन्दा पछाडि रहेको छ। उक्त मन्त्रालयले हालसम्म ९.९३ प्रतिशत मात्रै बजेट खर्च गर्न सकेको छ।

प्रदेश लेखा नियन्त्रक कार्यालयका सूचना अधिकारी निरेन्द्रलाल कर्णका अनुसार विभिन्न योजना तथा कार्यक्रमको भुक्तानी असार २५ गतेसम्म जारी रहने भएकाले आगामी केही दिनमा खर्चको प्रतिशत अझै बढ्ने सम्भावना रहेको छ।

भर्खरै

सम्बन्धित पोस्टहरुः