वीरगंज, असार २१ –
इरानका सर्वोच्च नेता आयातोल्लाह अली खामेनीको अन्त्येष्टिमा राजधानी तेहरानमा लाखौँ मानिस सहभागी भएका छन्। अन्त्येष्टिमा एक करोडभन्दा बढी नागरिक तथा सयभन्दा बढी देशका प्रतिनिधि सहभागी हुने अपेक्षा गरिएको छ।
यसैबीच अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले अन्त्येष्टिको अवधिभर अमेरिका–इरानबीच कुनै सैन्य कारबाही नहुने र त्यसपछि दुवै देशबीच वार्ता पुनः सुरु हुने बताएका छन्।
यता गाजा र दक्षिणी लेबनानमा इजरायली आक्रमण जारी रहँदा थप मानवीय क्षति भएको छ। टर्कीले भने अमेरिका–इरानबीचको समझदारी कमजोर पार्ने प्रयास इजरायलले गरिरहेको आरोप लगाएको छ।
खामेनीको अन्त्येष्टि कार्यक्रम जुलाई ९ मा उनको गृह सहर मशहदमा सम्पन्न हुने जनाइएको छ।
गत फेब्रुअरी २८ मा इजरायल र अमेरिकाले इरानमाथि गरेको हवाई आक्रमणमा ८६ वर्षीय खामेनीको मृत्यु भएको थियो। उक्त आक्रमणमा उनकी श्रीमतीसहित परिवारका अन्य सदस्यको पनि ज्यान गएको थियो भने छोरा मोज्तबा खामेनी घाइते भएका थिए। हाल मोज्तबा खामेनी इरानको नयाँ सर्वोच्च नेता बनेका छन्।







