वीरगंज, २१ असार।
पर्सा जिल्लाको ठोरी नाकाबाट भारतीय नम्बर प्लेटका मोटरसाइकल तथा चारपांग्रे सवारीसाधन सीमामै रोकिएपछि ठोरी क्षेत्रको पर्यटन तथा होटल व्यवसायीहरु मारमा परेका छन्।
आइतवार बिदा मनाउन आएका भारतीयहरु नेपाल प्रवेशमा सशस्त्र प्रहरीले कडाइ गरेपछि फर्किको र सोको प्रत्यक्ष असर परेको भन्दै व्यवसायीहरूले चिन्ता व्यक्त गरेका छन्। स्थानीय होटल, रिसोर्ट तथा पर्यटन व्यवसायीका अनुसार सप्ताहन्त र बिदाका दिन भारतीय पर्यटकको उल्लेख्य आगमन हुने गरेको भए पनि पछिल्ला दिनमा सवारी प्रवेशमा गरिएको कडाइका कारण पर्यटकको संख्या उल्लेख्य रूपमा घटेको छ।
सशस्त्र प्रहरीका अनुसार बिना आवश्यक अनुमति भारतीय नम्बर प्लेटका सवारीसाधनको आवतजावत नियन्त्रण गर्न तथा सम्भावित सुरक्षा जोखिमलाई मध्यनजर गर्दै ठोरीसहित पर्साका विभिन्न सीमा नाकामा निगरानी कडा पारिएको जनाएको छ।






