बारा, २२ असार। बाराको पचरौता नगरपालिका–१ स्थित नेपाल–भारत सीमामा जमुनिया खोलाको किनारमा एक अज्ञात पुरुषको शव फेला परेको छ।
भारततर्फको सीमा सुरक्षा बल (SSB) ले सोमबार साँझ करिब साढे ७ बजे प्रहरी चौकी पिपरपाती, बारालाई खबर गरेपछि प्रहरी टोली घटनास्थलतर्फ खटिएको थियो। प्रहरी सहायक निरीक्षक समसुदिन मियाँ तेलीको कमाण्डमा पुगेको टोलीले घटनास्थल सुरक्षित राखेको थियो।
प्रहरीका अनुसार शव नेपाल–भारत सीमाको ३६३/३० नम्बरको पिलरबाट करिब १५४ फिट पश्चिम–उत्तरतर्फ जमुनिया खोलाको किनारमा फेला परेको हो। अन्दाजी ३३ देखि ३५ वर्ष उमेर समूहका पुरुषको शव हालसम्म पहिचान हुन सकेको छैन।
घटनाबारे थप अनुसन्धानका लागि जिल्ला प्रहरी कार्यालय, बाराबाट प्रहरी उपरीक्षक नरेन्द्र कुँवरको कमाण्डमा SOCO सहितको टोली तथा इलाका प्रहरी कार्यालय, सिम्रौनगढबाट प्रहरी सहायक निरीक्षक आशिक चौधरीको नेतृत्वमा अर्को टोली खटिएको प्रहरीले जनाएको छ।
शवलाई हिजो राती नै मुचुल्का तयार गरी पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल, कलैया ल्याइएको प्रहरीले जनाएको छ।
घटनास्थल प्रहरी चौकी पिपरपातीबाट करिब २.५ किलोमिटर दक्षिणमा पर्दछ। भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।





