ठोरी नाकामा भारतीय सवारीसाधन रोकिएको विषय संसद्मा प्रवेश

1200x150_1200x150-01.jpg (1)


वीरगंज, असार २३ –

पर्साको ठोरी नाकाबाट भारतीय पर्यटकका सवारीसाधनलाई नेपाल प्रवेशमा रोक लगाइएको विषय प्रतिनिधिसभामा उठेको छ। नेपाली कांग्रेसकी सांसद सीता थपलियाले सोमबार प्रतिनिधिसभाको बैठकमा उक्त विषय उठाउँदै सरकारको ध्यानाकर्षण गराएकी हुन्।

सांसद थपलियाले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्तिपछि नेपाल–भारत सीमावर्ती क्षेत्रमा विभिन्न समस्या देखिन थालेको उल्लेख गर्दै ठोरी नाकामा सशस्त्र प्रहरीले ‘माथिको आदेश’ भन्दै गत शुक्रबारदेखि भारतीय पर्यटकका सवारीसाधनलाई नेपाल प्रवेश गर्न नदिएको बताइन्।

उनले ठोरी प्राचीन तथा ऐतिहासिक महत्व बोकेको तथा उदाउँदो पर्यटकीय गन्तव्य भएकाले यस्तो निर्णयले स्थानीय पर्यटन व्यवसायमा प्रत्यक्ष असर परेको उल्लेख गरिन्। ठोरीमा छोटी भन्सार कार्यालयको भवन भए पनि कर्मचारी नहुँदा पर्यटकले भन्सार प्रक्रिया पूरा गर्न नसकेको उनको भनाइ थियो।

वर्षौंदेखि निश्चित दूरीसम्म सहज आवतजावत हुँदै आएको स्थानमा सवारीसाधन रोक्नु उचित नभएको बताउँदै सांसद थपलियाले सरकारले आफ्नै संरचनामा कर्मचारी व्यवस्थापन गर्न नसकेर पर्यटक फर्काउनु स्वीकार्य नभएको धारणा राखिन्।

उनले पर्यटन प्रवर्द्धनका लागि पर्यटकमैत्री वातावरण सिर्जना गर्न तथा ठोरी नाकामा देखिएको समस्या तत्काल समाधान गर्न गृह मन्त्रालयको ध्यानाकर्षण गराएकी छन्।

सम्बन्धित पोस्टहरुः