रौतहट, असार २३ —
रौतहटमा एक नेपाली र चार भारतीय नागरिकविरुद्ध २२ वर्षीया युवतीमाथि सामूहिक बलात्कार गरेको आरोपमा मुद्दा दर्ता गरिएको छ।
पीडित युवतीको जाहेरीका आधारमा जिल्ला प्रहरी कार्यालय रौतहटले सोमबार पाँच जनाविरुद्ध जबरजस्ती करणी सम्बन्धी कसुरमा मुद्दा दर्ता गरी अनुसन्धान अघि बढाएको हो।
प्रहरीका अनुसार गौरस्थित होटल सुषमा प्यालेसबाट स्थानीय सन्तोषकुमार राउत तथा भारतीय नागरिक मोहम्मद ताजुदिन, जितेन्द्र कुमार, हसमिन आलम सहित पाँच जनालाई पक्राउ गरिएको छ। जिल्ला अदालत रौतहटले उनीहरूलाई अनुसन्धानका लागि पाँच दिनको म्याद दिएको छ।
आइतबार दिउँसो होटलमा एक युवतीलाई बन्धक बनाएर सामूहिक बलात्कार भइरहेको भन्ने सूचनापछि प्रहरी घटनास्थल पुगेको थियो। त्यसपछि घटनामा संलग्न रहेको आरोपमा पाँचै जनालाई नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।
पीडित युवतीको प्रादेशिक अस्पताल गौरमा स्वास्थ्य परीक्षण सम्पन्न भइसकेको छ। प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाउँदै कानुनबमोजिम आवश्यक कारबाही अघि बढाइने जनाएको छ।







