वीरगंज, असार २३ —
पर्साको वीरगंजबाट सशस्त्र प्रहरीले ठूलो परिमाणमा प्रतिबन्धित लागूऔषधसहित तीन जनालाई पक्राउ गरेको छ। साथै, भन्सार छलेर ल्याइएका करिब पाँच लाख रुपैयाँ बराबरका औषधि पनि बरामद गरिएको छ।
सशस्त्र प्रहरी बल सीमा सुरक्षा गुल्म वीरगंजको टोलीले सोमबार राति भारतबाट नेपालतर्फ आउँदै गरेको म.प्र.०३–००१ ह १९८१ नम्बरको ई–रिक्सालाई जाँच गर्ने क्रममा एक भारतीय महिलाले आफ्ना दुवै तिघ्रामा टेपले बाँधेर लुकाई ल्याएको अवस्थामा डाइजेपाम २०० एम्पुल, हाइड्रोक्लोराइड २०० एम्पुल र बुप्रेनोर्फिन २ एम्पुल बरामद गरेको हो।
लागूऔषध, ई–रिक्सा तथा पक्राउ परेका तीनै जनालाई थप अनुसन्धान तथा कानुनी कारबाहीका लागि नेपाल प्रहरीको जिम्मा लगाइएको सशस्त्र प्रहरीले जनाएको छ।
यसैबीच, वीरगंज महानगरपालिका–१ छपकैया सीमा क्षेत्रमा सशस्त्र प्रहरीको बीओपी सिर्सियाबाट खटिएको टोलीले करिब पाँच लाख रुपैयाँ बराबरका चार कार्टुन भिटामिनलगायत विभिन्न औषधि बरामद गरेको छ। तस्करहरू प्रहरी टोली देखेर फरार भएपछि औषधि नियन्त्रणमा लिइएको हो।
बरामद औषधि आवश्यक कारबाहीका लागि वीरगंज भन्सार कार्यालय, पर्सामा बुझाइएको सशस्त्र प्रहरी नायब उपरीक्षक मोहनराज निरौलाले जानकारी दिए।







