वीर्गस्न्ज , असार २३ —
फिफा विश्वकप २०२६ को राउण्ड अफ ३२ अन्तर्गत अन्तिम खेलमा आज स्विट्जरल्यान्ड र कोलम्बियाबीच प्रतिस्पर्धा हुँदैछ। क्यानडाको बिसी प्लेस स्टेडियममा हुने खेल नेपाली समयअनुसार मंगलबार बिहान पौने २ बजे सुरु हुनेछ।
यो खेलसँगै राउण्ड अफ ३२ का सबै खेल सकिनेछन् र क्वार्टरफाइनल पुग्ने आठ टोलीको टुंगो लाग्नेछ। साथै, जारी विश्वकपमा क्यानडामा हुने यो अन्तिम खेल पनि हुनेछ।
समूह चरणमा अपराजित रहँदै अघि बढेको स्विट्जरल्यान्डले राउण्ड अफ ३२ मा अल्जेरियालाई २–० ले हराएको थियो। यता कोलम्बियाले घानालाई १–० ले पराजित गर्दै अन्तिम १६ मा स्थान बनाएको हो।
७२ वर्षपछि विश्वकपको क्वार्टरफाइनल पुग्ने लक्ष्यमा रहेको स्विट्जरल्यान्ड र दोस्रो पटक अन्तिम आठमा पुग्ने योजनामा रहेको कोलम्बियाबीचको प्रतिस्पर्धा रोमाञ्चक हुने अपेक्षा गरिएको छ।
विश्वकपमा यी दुई टोली दोस्रो पटक आमनेसामने हुन लागेका हुन्। सन् १९९४ को विश्वकपमा भएको पहिलो भेटमा कोलम्बियाले स्विट्जरल्यान्डलाई २–० ले पराजित गरेको थियो। समग्रमा दुवै टोलीबीच भएका चार खेलमध्ये कोलम्बियाले दुई, स्विट्जरल्यान्डले एक खेल जितेका छन् भने एक खेल बराबरीमा सकिएको छ।
स्विट्जरल्यान्डका कप्तान ग्रानिट जाका र युवा खेलाडी जोहान मान्जाम्बी तथा कोलम्बियाका लुइस डियाज र लुइस स्वारेज आजको खेलका प्रमुख आकर्षण रहनेछन्।







