सेवाग्राही कुटपिट प्रकरणमा यातायात कार्यालय बाराका निमित्त प्रमुख पक्राउ

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २३ —

यातायात व्यवस्था कार्यालय बारा परिसरमा सेवाग्राहीमाथि कुटपिट गरेको आरोपमा निमित्त कार्यालय प्रमुख चिन्तन आचार्यलाई प्रहरीले पक्राउ गरी अनुसन्धान सुरु गरेको छ।

घटनाको भिडियो सामाजिक सञ्जालमा भाइरल भएपछि जिल्ला प्रहरी कार्यालय बाराले आचार्यलाई नियन्त्रणमा लिएको हो। जिल्ला प्रहरी कार्यालय बाराका प्रमुख प्रहरी उपरीक्षक (एसपी) नरेन्द्र कुवँरका अनुसार घटनाको वास्तविकता बुझ्न अनुसन्धान अघि बढाइएको छ।

प्रहरीका अनुसार कार्यालय प्रमुखको कार्यकक्ष बाहिर सेवाग्राहीसँग विवाद चर्किएपछि दुवै पक्षबीच हातपात भएको थियो। सार्वजनिक भएको भिडियो गत फागुन तेस्रो साताको घटनासँग सम्बन्धित रहेको बताइएको छ।

आचार्यले भने सेवाग्राही अरुण कुशवाहाले आफूलाई पत्रकार भन्दै श्रीमती र सालीको चालक अनुमतिपत्र (लाइसेन्स) सम्बन्धी कामका लागि कार्यालय आएको, कर्मचारीसँग गालीगलौज र धाकधम्की गरेपछि विवाद भएको दाबी गरेका छन्।

घटनाको भिडियो सार्वजनिक भएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले पनि चासो देखाएको छ। प्रहरीका अनुसार त्यसबेला विवाद मिलाइएको भए पनि भिडियो सार्वजनिक भएपछि घटनाबारे थप अनुसन्धान सुरु गरिएको छ।

सम्बन्धित पोस्टहरुः