वीरगंज, असार २३ —
घरजग्गा रोक्का तथा फुकुवा अनलाइनमार्फत गर्ने भू–सेवा प्रणाली अनिश्चितकालका लागि बन्द गरिएको छ। सर्भरमा प्राविधिक समस्या देखिएपछि भूमि व्यवस्थापन तथा अभिलेख विभागले अर्को सूचना नभएसम्म सेवा स्थगित गरेको हो।
विभागका अनुसार सर्भर मर्मत तथा स्तरोन्नतिको काम भइरहेकाले अब बैंकबाट हुने घरजग्गा रोक्का–फुकुवाको प्रक्रिया पुरानै प्रणालीबाट सञ्चालन हुनेछ। आवश्यक विवरण सम्बन्धित भूमि प्रशासन कार्यालयमार्फत प्रविष्ट गरी सेवा उपलब्ध गराइने जनाइएको छ।
सरकारले गत जेठ १ गतेदेखि सहकारीबाहेक सबै बैंकलाई घरजग्गा रोक्का–फुकुवा अनिवार्य रूपमा अनलाइनमार्फत गर्नुपर्ने व्यवस्था लागू गरेको थियो। तर प्रणालीमा पटक–पटक प्राविधिक समस्या देखिएपछि सेवा प्रभावित हुँदै आएको थियो।







