वीरगंज, असार २४ —
पर्साको ठोरी नाकाबाट भारतीय नम्बर प्लेटका चारपांग्रे सवारीसाधनको प्रवेश पुनः सुचारु भएको छ। ठोरी छोटी भन्सार सञ्चालनमा आएपछि भारतीय सवारीले निःशुल्क सुविधा पास लिएर नेपाल प्रवेश गर्न थालेका हुन्।
असार १९ गतेदेखि सशस्त्र प्रहरीले भारतीय चारपांग्रे सवारीको प्रवेश रोकेपछि स्थानीय व्यवसायी, पर्यटन व्यवसायी र सर्वसाधारणले विरोध जनाएका थिए। प्रतिनिधिसभामा पनि यो विषय उठेपछि तथा स्थानीयको पहलपछि प्रवेश पुनः खुलाइएको हो।
मंगलबार बीआर २२ पीए ०३९२ नम्बरको भारतीय सवारीले पहिलोपटक ठोरी छोटी भन्सारबाट निःशुल्क सुविधा पास लिएर ठोरी बजार प्रवेश गरेको छ।
भारतीय पर्यटकको आवागमन पुनः सुरु भएसँगै ठोरी क्षेत्रको पर्यटन, व्यापार–व्यवसाय तथा स्थानीय आर्थिक गतिविधिमा सकारात्मक प्रभाव पर्ने अपेक्षा गरिएको छ।







