नक्कली भुटानी शरणार्थी प्रकरणमा रायमाझी, खाणसहित १५ जना दोषी ठहर

1200x150_1200x150-01.jpg (1)

वीरगंज, असार २४ —

बहुचर्चित नक्कली भुटानी शरणार्थी प्रकरणमा जिल्ला अदालत काठमाडौंले पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वगृहमन्त्री बालकृष्ण खाण, पूर्वगृह सचिव टेकनारायण पाण्डेसहित १५ जनालाई दोषी ठहर गरेको छ। मुद्दा दायर भएको करिब तीन वर्षपछि न्यायाधीश तेजबहादुर खड्काको इजलासले सोमबार उक्त फैसला सुनाएको हो।

अदालतले रायमाझी, खाण र पाण्डेसँगै केशव दुलाल, सानु भण्डारी, सागर राई, सन्देश शर्मा, तत्कालीन गृहमन्त्री रामबहादुर थापा ‘बादल’का सुरक्षा सल्लाहकार इन्द्रजित राई, गोविन्द चौधरी, कांग्रेसका पूर्वसांसद आङटावा शेर्पा, हज कमिटीका तत्कालीन अध्यक्ष शमशेर मियाँ, खाणका स्वकीय सचिव नरेन्द्र केसी, हरिभक्त महर्जन, निरञ्जनकुमार खरेल र बेचन झालाई पनि दोषी ठहर गरेको छ।

यस्तै, सन्दीप रायमाझीसहित सात जनाले भने अदालतबाट सफाइ पाएका छन्। अदालतले उनीहरूमाथि लगाइएको आरोप पुष्टि हुने पर्याप्त प्रमाण नपुगेको निष्कर्ष निकालेको हो।

यस प्रकरणमा फरार रहेका अशोक पोखरेल, धिरेन राई, दीपा हुमागाईं, नीरज राई, राजेश अर्याल, मोहनराज राई, विनिता सावदेन लिम्बू र सुनिल बुढाथोकीको हकमा भने पक्राउ परेपछि कानुनअनुसार प्रक्रिया अघि बढाइने अदालतले जनाएको छ।

दोषी ठहर भएका १५ जनाको सजाय निर्धारणका लागि असार २९ गते पेसी तोकिएको छ। मानव तस्करी र ठगीसँग सम्बन्धित यो प्रकरण नेपालका चर्चित उच्च–प्रोफाइल मुद्दामध्ये एक हो। अनुसन्धानका क्रममा नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिने प्रलोभनमा करोडौं रुपैयाँ असुलिएको खुलेपछि नेपाल प्रहरीले विस्तृत अनुसन्धान गरी मुद्दा दायर गरेको थियो।

सम्बन्धित पोस्टहरुः