वीरगंज/रक्सौल, असार २४ —
भारत–नेपाल सीमास्थित रक्सौलको मैत्री पुलबाट अवैध रूपमा नेपाल प्रवेश गर्न खोजेका एक बंगलादेशी नागरिकलाई भारतको सशस्त्र सीमा बल (एसएसबी)ले पक्राउ गरेको छ।
मंगलबार राति नियमित गस्ती तथा सघन जाँचका क्रममा शंकास्पद गतिविधि देखिएपछि उनलाई नियन्त्रणमा लिइएको हो। आवश्यक कानुनी प्रक्रिया पूरा गरेपछि एसएसबीले उनलाई थप अनुसन्धानका लागि हरैया प्रहरीको जिम्मा लगाएको छ।
पक्राउ पर्ने व्यक्ति २७ वर्षीय एमडी शियाम हुसैन रहेको खुलेको छ। उनी बंगलादेशको मुन्सीगञ्ज जिल्लाका स्थायी बासिन्दा हुन्। जाँचका क्रममा उनीसँग बंगलादेशको राहदानी फेला परेको थियो। तर भारत प्रवेशका लागि आवश्यक भिसा वा अन्य वैध कागजात भने नभएको एसएसबीले जनाएको छ।
प्रारम्भिक सोधपुछका क्रममा उनले हिन्दु नाम बताउँदै सुरक्षा निकायलाई झुक्याउने प्रयास गरेको जनाइएको छ। साथै उनी यसअघि पनि भारत–नेपाल सीमाक्षेत्रमा आवतजावत गरेको हुन सक्ने आशंकामा सुरक्षा निकायले अनुसन्धान गरिरहेको छ।
सुरक्षा अधिकारीहरूले उनको मोबाइल फोन, यात्रा मार्ग, नेपाल प्रवेशको उद्देश्य, भारत तथा नेपालमा रहेका सम्भावित सम्पर्क र कुनै संगठित सञ्जालसँग सम्बन्ध भए–नभएको विषयमा विस्तृत अनुसन्धान गरिरहेका छन्।
हरैया प्रहरीका अनुसार वैध अनुमति बिना भारतमा कसरी बसिरहेका थिए, नेपाल प्रवेश गर्ने उद्देश्य के थियो र यस घटनामा कुनै संगठित गिरोहको संलग्नता छ वा छैन भन्ने विषयमा अनुसन्धान जारी छ।
हालका दिनहरूमा भारत–नेपाल सीमामा अवैध प्रवेशका घटना बढ्दै गएपछि एसएसबीले सीमा क्षेत्रमा निगरानी, गस्ती तथा कागजात जाँचलाई थप कडा बनाएको जनाएको छ।







