वीरगंज , असार २४ —
प्रधानमन्त्री बालेन्द्र शाहले अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रका प्रतिनिधिसँग छलफल गर्दै लगानीमैत्री वातावरण निर्माण र उद्यमीका समस्या समाधानमा सरकार प्रतिबद्ध रहेको बताएका छन्।
सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा नेपाल उद्योग वाणिज्य महासङ्घ, नेपाल चेम्बर अफ कमर्स र नेपाल उद्योग परिसङ्घका पदाधिकारीसँग भएको छलफलमा लगानी विस्तार, उत्पादन वृद्धि, रोजगारी सिर्जना तथा निजी क्षेत्रका व्यावहारिक समस्याबारे चर्चा भएको थियो।
नेपाल चेम्बर अफ कमर्सका अध्यक्ष कमलेशकुमार अग्रवालका अनुसार उद्यमीमाथि हुने अनावश्यक पक्राउ रोक्न, अग्रिम जमानतको व्यवस्था गर्न, उद्योग स्थापना र लगानीका कानुनी जटिलता हटाउन सरकारसँग आग्रह गरिएको छ।
प्रधानमन्त्री शाहले उद्यमीलाई अनावश्यक रूपमा पक्राउ गर्ने सरकारको नीति नरहेको स्पष्ट पार्दै आवश्यक कानुनी संशोधनका लागि सरकार सकारात्मक रहेको बताएका छन्। साथै निजी क्षेत्रका समस्याको नियमित सुनुवाइका लागि प्रधानमन्त्री कार्यालयमा छुट्टै संयन्त्र गठन गर्ने प्रस्तावप्रति पनि सकारात्मक प्रतिक्रिया दिएको जनाइएको छ।
छलफलमा निजी क्षेत्रले पूँजीगत खर्च बढाएर आर्थिक गतिविधि तीव्र बनाउन पनि सरकारको ध्यानाकर्षण गराएको छ।






