बारामा मोटरसाइकल दुर्घटनामा परी एकजनाको मृत्यु

1200x150_1200x150-01.jpg (1)

बारा: बारामा मोटरसाइकल आफैँ अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ।

मिति २०८३ असार २४ गते बिहान अन्दाजी ५:३० बजेको समयमा जिल्ला बाराको जितपुरसिमरा उपमहानगरपालिका–२३, भलुहीचोकस्थित वीरगञ्ज–पथलैया सडक खण्डमा दुर्घटना भएको हो। वीरगञ्जबाट पथलैयातर्फ आउँदै गरेको म.प्र.०३-०१९ प ६८३९ नम्बरको मोटरसाइकल आफैँ अनियन्त्रित भई सडक छेउको रेलिङमा ठोकिन पुगेको थियो।

दुर्घटनामा परी मोटरसाइकल चालक जिल्ला पर्सा, ठोरी गाउँपालिका–४ निवासी अन्दाजी ४० वर्षीय ईश्वर श्रेष्ठ गम्भीर घाइते भएका थिए। घाइते श्रेष्ठलाई तत्काल उपचारका लागि प्रादेशिक अस्पताल कलैया लगिएकोमा थप उपचारका लागि नारायणी अस्पताल वीरगञ्ज रिफर गरिएको थियो।

नारायणी अस्पतालमा उपचारका क्रममा बिहान ७:३० बजे डाक्टरले उनलाई मृत घोषित गरेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

घटनास्थलमा इलाका प्रहरी कार्यालय जितपुरबाट प्रहरी सहायक निरीक्षक तेज नारायण बैठाको कमाण्डमा खटिएको टोलीले दुर्घटनाग्रस्त मोटरसाइकल नियन्त्रणमा लिएको छ। हाल मृतकको शव नारायणी अस्पतालमा राखिएको र घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः