बारा, असार २५ —
बाराको कोल्हवी नगरपालिका–स्थित सखुवाटोलबाट वन कर्मचारी र सशस्त्र प्रहरीको संयुक्त टोलीले करिब ८० हजार रुपैयाँ मूल्य बराबरको सालको गोलिया बरामद गरेको छ।
सूचनाका आधारमा कोल्हवी सबडिभिजन वन कार्यालय तामागढीका वन अधिकृत कृष्णप्रसाद पटेलको नेतृत्वमा खटिएको टोलीले लुकाइछिपाइ राखिएको चार थान सालको गोलिया बरामद गरेको हो। बरामद गरिएको गोलियाको परिमाण १९.६० क्यूफिट रहेको वन कार्यालयले जनाएको छ।
बरामद कार्यमा सशस्त्र वनरक्षक, वन कर्मचारी तथा सशस्त्र प्रहरी सुरक्षा बेस कोल्हवीको टोलीको सहभागिता रहेको थियो।
वन अधिकृत पटेलका अनुसार राष्ट्रिय तथा साझेदारी वन क्षेत्रबाट चोरी गरी ल्याइएका काठ तथा गोलिया नियन्त्रणमा लिई संलग्न व्यक्तिमाथि आवश्यक कानुनी कारबाही प्रक्रिया अघि बढाइएको छ।






