कैलाली, असार २५ —
सार्वजनिक कार्यक्रममा ‘हामी बालेनको पुलिस होइनौँ’ भन्ने अभिव्यक्ति दिएका इलाका प्रहरी कार्यालय सुखडका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) प्रसन्नराज चौधरीलाई जिल्ला प्रहरी कार्यालय कैलालीमा सोधपुछका लागि बोलाइएको छ।
प्रहरी स्रोतका अनुसार प्रधानमन्त्रीको नाम जोडेर दिएको अभिव्यक्तिका साथै कार्यशैली र विगतका गतिविधिसम्बन्धी विभिन्न उजुरीका आधारमा उनीमाथि छानबिन अघि बढाइएको हो।
घोडाघोडी नगरपालिका–५ दरखमा आयोजित लागुऔषध सचेतना कार्यक्रममा डीएसपी चौधरीले आफूहरू कुनै राजनीतिक दल वा नेताको पुलिस नभएको भन्दै विवादास्पद अभिव्यक्ति दिएका थिए। उक्त भिडियो सार्वजनिक भएपछि सामाजिक सञ्जालमा व्यापक चर्चा र आलोचना भएको थियो।
जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख एसपी नरेन्द्र चन्दले चौधरीसँग पछिल्लो अभिव्यक्तिसहित अन्य गतिविधिबारे पनि सोधपुछ गरिने बताएका छन्। प्रहरी प्रधान कार्यालयबाट प्राप्त पत्रका आधारमा घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।






