वीरगंज , असार २५
तराई–मधेशका अधिकांश जिल्लामा माध्यमिक शिक्षा परीक्षा (एसइई) उत्तीर्ण गरेका विद्यार्थी अध्ययनका लागि काठमाडौँ, विराटनगर, धरान, जनकपुरलगायतका सहर तथा निजी विद्यालयतर्फ आकर्षित हुन थालेपछि ग्रामीण क्षेत्रका सामुदायिक प्लस टु विद्यालय विद्यार्थी अभावको गम्भीर संकटमा परेका छन्।
मधेश प्रदेशका महोत्तरी, धनुषा, सप्तरी, रौतहट, सिरहालगायत जिल्लामा कक्षा ११ र १२ सञ्चालन भइरहेका सामुदायिक विद्यालयमा विद्यार्थी संख्या वर्षेनी घट्दै गएको तथ्यांकले देखाएको छ। विद्यार्थी भर्नादर आधारभूत तहमा उच्च रहे पनि प्लस टुसम्म पुग्दा आधाभन्दा कम विद्यार्थी मात्र स्थानीय विद्यालयमा टिक्ने गरेका छन्।
महोत्तरीमा निजी विद्यालयतर्फ आकर्षण
शिक्षा विकास तथा समन्वय एकाइ महोत्तरीका अनुसार २०८१ देखि २०८२ सम्म सामुदायिक विद्यालयमा प्लस टु अध्ययन गर्ने विद्यार्थी ४.५१ प्रतिशतले घटेका छन् भने निजी विद्यालयमा ३६.२२ प्रतिशतले वृद्धि भएको छ। २०८१ मा सामुदायिक विद्यालयमा ८ हजार ७६१ विद्यार्थी अध्ययनरत रहेकामा २०८२ मा यो संख्या ८ हजार ३६६ मा झरेको छ। निजी विद्यालयमा भने विद्यार्थी संख्या ६४६ बाट बढेर ८८० पुगेको छ।
जिल्लाका प्रधानाध्यापकहरूका अनुसार विज्ञान, व्यवस्थापन र प्राविधिक विषय अध्ययन गर्न विद्यार्थी जिल्ला बाहिर जाने क्रम बढेको छ भने सामुदायिक विद्यालयले गुणस्तरीय शिक्षाप्रति अभिभावकको विश्वास जित्न नसक्दा विद्यार्थी टिकाउन कठिन भएको छ।
धनुषामा काठमाडौँ मोह
धनुषाका विद्यालयहरूमा पनि यस्तै अवस्था देखिएको छ। मिथिला नगरपालिका–६ स्थित महेन्द्र माध्यमिक विद्यालयबाट एसइई उत्तीर्ण भएका १०८ विद्यार्थीमध्ये करिब २५ जना मात्रै आफ्नै विद्यालयमा कक्षा ११ मा भर्ना भएका छन्। बाँकी अधिकांश विद्यार्थी काठमाडौँ तथा अन्य सहरका विद्यालयतर्फ गएका छन्।
शिक्षाविद् डा. राजेन्द्र ठाकुरका अनुसार अभिभावक र विद्यार्थीमा राजधानीका विद्यालयप्रति बढ्दो आकर्षणले स्थानीय विद्यालय प्रभावित भएका छन्। प्याब्सनका केन्द्रीय प्राज्ञिक परिषद् सदस्य नरेन्द्र शर्माले पनि एसइईपछि काठमाडौँ जाने प्रवृत्तिले मधेशका विद्यालयमा विद्यार्थी घटिरहेको बताए।
सप्तरीका ग्रामीण विद्यालय संकटमा
सप्तरीका ग्रामीण क्षेत्रमा सञ्चालनमा रहेका उच्च माध्यमिक विद्यालयमा पनि विद्यार्थी अभाव बढ्दै गएको छ। विद्यार्थीहरू राजविराज, विराटनगर, धरान तथा काठमाडौँका विद्यालय रोज्न थालेपछि गाउँका प्लस टु विद्यालय संकटमा परेका छन्।
विद्यालयका प्रधानाध्यापक नागेन्द्र सिंहका अनुसार कमजोर आर्थिक अवस्था भएका, पूरक परीक्षाबाट उत्तीर्ण भएका तथा विवाहित छात्राहरू मात्र स्थानीय विद्यालयमा भर्ना हुने अवस्था बनेको छ।
रौतहटमा गुणस्तर र शिक्षक अभाव
रौतहटका ६० वटा सामुदायिक विद्यालयमा प्लस टुको पढाइ सञ्चालन भए पनि विद्यार्थी संख्या लगातार घटिरहेको छ। शिक्षा विकास तथा समन्वय एकाइका प्रमुख नन्दकिशोर गुप्ताका अनुसार गुणस्तरीय शिक्षाको अभाव, विषयगत शिक्षकको कमी, पूर्वाधार कमजोर हुनु तथा राजनीतिक हस्तक्षेपका कारण विद्यार्थी निजी विद्यालयतर्फ आकर्षित भइरहेका छन्।
स्थानीय अभिभावकहरूले सामुदायिक विद्यालयमा विभिन्न शीर्षकमा शुल्क असुल्न थालिएको र गुणस्तरीय शिक्षाको वातावरण नबनेका कारण निजी विद्यालय रोज्न बाध्य भएको बताएका छन्।
सिराहामा उत्कृष्ट विद्यार्थी बाहिरिए
सिराहामा कक्षा ११ र १२ सञ्चालन गर्ने विद्यालयको संख्या एक सय पुगे पनि एसइईमा ‘ए प्लस’ र ‘ए’ ग्रेड ल्याउने अधिकांश विद्यार्थी जिल्ला बाहिर अध्ययनका लागि जाने गरेका छन्। राष्ट्रिय परीक्षा बोर्ड लहान शाखाका अनुसार ग्रामीण क्षेत्रका विद्यालयमा विद्यार्थी टिकाउन अझै चुनौती देखिएको छ।
प्रदेश सरकार चिन्तित
मधेश प्रदेश शिक्षा तथा संस्कृति मन्त्रालयका शिक्षा महाशाखा प्रमुख उज्ज्वल पोखरेलले प्रदेशभित्र गुणस्तरीय शैक्षिक संस्था हुँदाहुँदै विद्यार्थी बाहिरिनु चिन्ताजनक भएको बताए। उनले प्रदेशका विद्यालयलाई प्रतिस्पर्धी बनाउन शिक्षा नीति पुनरावलोकन, गुणस्तर सुधार, विषयगत शिक्षक व्यवस्थापन तथा पूर्वाधार विकासमा विशेष ध्यान दिनुपर्ने आवश्यकता औंल्याए।
शिक्षाविद्हरूका अनुसार सामुदायिक विद्यालयमा गुणस्तरीय शिक्षा, आधुनिक प्रयोगशाला, दक्ष शिक्षक र विश्वासिलो शैक्षिक वातावरण निर्माण गर्न नसके मधेशका ग्रामीण प्लस टु विद्यालय अझ गम्भीर संकटमा पर्ने चेतावनी दिएका छन्।






