गणेश नेपालीलाई तत्काल भारत नलैजाने निर्णय

1200x150_1200x150-01.jpg (1)

वीरगंज , असार २५ —

आत्मदाह प्रयास गरेका मुगुको सोरु गाउँपालिका–१ का २५ वर्षीय गणेश नेपालीलाई तत्काल उपचारका लागि भारत नलैजाने निर्णय गरिएको छ। उपचारमा संलग्न चिकित्सकहरूले स्वास्थ्य अवस्था अझै अस्थिर रहेकाले अहिले स्थानान्तरण गर्नु जोखिमपूर्ण हुने सुझाव दिएपछि सरकारले तत्काल भारत नपठाउने निर्णय गरेको हो।

यसअघि चिकित्सकहरूको प्रारम्भिक सिफारिसका आधारमा सरकारले उनलाई भारतको नयाँ दिल्लीस्थित एम्स अस्पतालमा उपचारका लागि लैजाने सम्पूर्ण तयारी पूरा गरेको थियो। हवाई उद्धार (एयर एम्बुलेन्स) को व्यवस्था गरिनुका साथै भारतमा विमानस्थलदेखि अस्पतालसम्मको सम्पूर्ण व्यवस्थापनसमेत मिलाइएको थियो। गृहमन्त्री सुदन गुरुङ स्वयं उद्धार समन्वयमा खटिएका थिए भने उपचारको सम्पूर्ण खर्च सरकारले व्यहोर्ने घोषणा गरेको थियो।

तर वीर अस्पतालको बर्न आईसीयूमा भेन्टिलेटरको सहारामा उपचाररत गणेश नेपालीको स्वास्थ्य अवस्था अस्थिर बनेपछि तत्काल स्थानान्तरण नगर्न चिकित्सकहरूले सुझाव दिएका हुन्। चिकित्सकहरूका अनुसार स्वास्थ्य अवस्था स्थिर भएपछि मात्रै भारत लैजाने विषयमा निर्णय गरिनेछ।

हाल गृहमन्त्री सुदन गुरुङ तथा प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयका सदस्यहरू वीर अस्पतालमै तयारी अवस्थामा रहेका छन्।

बिहीबार दिउँसो ३ बजे वीर अस्पतालमा भर्ना गरिएका गणेश नेपालीको शरीरको करिब ५५ प्रतिशत भाग जलेको अस्पतालले जनाएको छ।

उनको उपचारका लागि वीर अस्पतालको प्लास्टिक सर्जरी विभागका संयोजक डा. पियुष दाहालको नेतृत्वमा युनिट प्रमुख डा. अपार लामिछाने, क्रिटिकल केयर विशेषज्ञ डा. निर्मण ज्ञवाली, एनेस्थेटिस्ट जयप्रकाश ठाकुर, प्रा. डा. रविराम श्रेष्ठ तथा नर्सिङ सेवाका स्वास्थ्यकर्मीसहित २१ सदस्यीय विशेष चिकित्सक टोली खटिएको छ।

चिकित्सकहरूको टोलीले रक्तचाप नियन्त्रणमा राख्दै स्वास्थ्य अवस्था स्थिर बनाउन निरन्तर सघन उपचार गरिरहेको जनाएको छ।

सम्बन्धित पोस्टहरुः