वीरगंज, असार २५ —
वीरगंजस्थित ऐतिहासिक तथा धार्मिक महत्त्व बोकेको श्री गहवामाई मन्दिरको ‘माई विशाल रथयात्रा’लाई भव्य, सभ्य र व्यवस्थित रूपमा सम्पन्न गर्न स्थानीय प्रशासन, वीरगंज महानगरपालिका, सुरक्षा निकाय तथा सरोकारवाला संस्थाहरूले तयारी तीव्र पारेका छन्।
कार्यवाहक नगर प्रमुख इम्तियाज आलमको अध्यक्षतामा बसेको उच्चस्तरीय बैठकले आगामी असार ३२ गते हुने रथयात्राका लागि सुरक्षा, ट्राफिक व्यवस्थापन, सरसफाइ, खानेपानी, विद्युत, दूरसञ्चार तथा धार्मिक पवित्रता कायम राख्ने विषयमा सम्बन्धित निकायलाई जिम्मेवारी बाँडफाँड गरेको छ।
बैठकले नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र नगर प्रहरीलाई संयुक्त रूपमा परिचालन गर्ने, महानगरपालिकाले सरसफाइको जिम्मा लिने तथा नेपाल विद्युत प्राधिकरण र नेपाल टेलिकमले सेवा अवरुद्ध हुन नदिने व्यवस्था मिलाउने निर्णय गरेको छ।
कार्यवाहक नगर प्रमुख आलमले गहवामाई रथयात्रा वीरगंज र मधेशकै गौरवको पर्व भएकाले सबै निकायले समन्वय गरेर सफल बनाउन आग्रह गरेका छन्। आयोजक समितिले पनि रथयात्रालाई मर्यादित र सफल बनाउन सम्पूर्ण वीरगंजबासीको सहयोगको अपिल गरेको छ।







