राशेश्याम पटेल // वीरगंज, असार २६ —
वीरगंज भन्सार कार्यालयअन्तर्गतको यात्रु महाशाखामा लागू गरिएको नयाँ अनलाइन प्रणालीका कारण भारतीय पर्यटकले सास्ती खेप्नुपरेको गुनासो बढेको छ। सेवा सहज बनाउने उद्देश्यले लागू गरिएको प्रणाली व्यवहारमा जटिल बन्दा सेवाग्राही घण्टौँ लाइनमा बस्न बाध्य भएको र त्यसको फाइदा उठाउँदै विचौलिया सक्रिय भएको आरोप लागेको हो।
अस्थायी रूपमा नेपाल प्रवेश गर्ने भारतीय सवारीसाधन (टीआईभी) का लागि अनलाइनमार्फत विवरण भर्ने, कागजात रुजु गराउने र राजस्व भुक्तानी गरेपछि मात्र भन्सार पास दिने व्यवस्था लागू गरिएको छ। तर जानकारीको अभाव, प्राविधिक समस्या तथा अन्तिम प्रक्रिया कार्यालयमै पूरा गर्नुपर्ने व्यवस्थाले सेवाग्राहीलाई झन्झट भएको बताइएको छ।
भारतका एक पर्यटक नवल किशोरले दुई घण्टाभन्दा बढी समय लाइनमा बस्दा पनि भन्सार पास नपाएको भन्दै सामाजिक सञ्जालमा भिडियो सार्वजनिक गरेका छन्। उनले नेपालको जटिल प्रक्रियाका कारण भारतीय पर्यटकले अनावश्यक सास्ती खेप्नुपरेको गुनासो गरेका छन्।
स्थानीय राजनीतिक दलका केही नेताले पनि नयाँ प्रणालीको विरोध गर्दै यात्रु महाशाखामा विरोध प्रदर्शन गरेका थिए। जनमत पार्टीका एक नेताले कर्मचारी र विचौलियाबीच मिलेमतो भएर सेवाग्राहीलाई दलालको भर पर्न बाध्य बनाइएको आरोप लगाएका छन्।
यस विषयमा स्थानीय युवाले ‘हेल्लो सरकार’मा समेत उजुरी दिएका छन्। उजुरीपछि सम्बन्धित निकायलाई घटनाबारे छानबिन गरी आवश्यक कारबाही अघि बढाउन निर्देशन दिइएको जनाइएको छ।
सेवाग्राहीका अनुसार यात्रु महाशाखा आसपास दैनिक दर्जनौँ विचौलिया सक्रिय छन्। उनीहरूले भन्सार पास छिट्टै गराइदिने भन्दै अतिरिक्त रकम असुल्ने गरेको गुनासो छ। चारपांग्रे सवारीको भन्सार पासका लागि आधिकारिक रूपमा भारतीय ३५० रुपैयाँ शुल्क लाग्ने भए पनि विचौलियाले थप रकम असुल्ने गरेको आरोप छ।
वीरगंज भन्सार कार्यालयका सूचना अधिकारी उदयसिंह विष्टले विचौलिया नियन्त्रणका लागि कार्यालय गम्भीर रहेको बताए। कर्मचारीको संलग्नता प्रमाणित भए कारबाही गरिने उनले स्पष्ट पारे। प्रारम्भिक चरणमा नयाँ प्रणालीबारे पर्याप्त जानकारी नहुँदा केही समस्या देखिएको स्वीकार गर्दै समयसँगै सेवा थप सहज र प्रभावकारी हुने विश्वास उनले व्यक्त गरे।






