विद्यार्थी तथा शिक्षक–कर्मचारीलाई सम्मान

1200x150_1200x150-01.jpg (1)

परवानीपुर, २६ असार । वीरगञ्ज महानगरपालिका–२१ स्थित गीता गजेन्द्रराज जोशी माध्यमिक विद्यालय, सुखचैनामा एसइईमा उत्कृष्ट नतिजा हासिल गरेका विद्यार्थी तथा शिक्षक–कर्मचारीलाई सम्मान गरिएको छ।

विद्यालयले २०८२ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) मा सफल भएका विद्यार्थी र शैक्षिक उपलब्धिमा योगदान पुर्‍याएका शिक्षक–कर्मचारीको सम्मानका लागि विशेष कार्यक्रम आयोजना गरेको हो। यस वर्ष विद्यालयबाट एसइईमा सहभागी ४३ जना विद्यार्थिमध्ये ३० जना उत्तीर्ण भएका थिए। उत्तीर्ण सबै विद्यार्थीका साथै १५ जना शिक्षक–शिक्षिका तथा कर्मचारीलाई टीका, गम्छा, प्रशंसापत्रसहित सम्मान गरिएको विद्यालयले जनाएको छ।

कार्यक्रममा विद्यालयबाट सर्वोत्कृष्ट नतिजा ल्याएकी छात्रा विद्याकुमारी कुशवाहालाई नगद पुरस्कारसमेत प्रदान गरिएको थियो।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष राजेश पटेलको अध्यक्षता तथा शिक्षक सुनिलकुमार झाको सहजीकरणमा सम्पन्न कार्यक्रममा वीरगञ्ज महानगरपालिकाको शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछाने प्रमुख अतिथि रहेका थिए। त्यसैगरी वीरगञ्ज–२१ लिपनीबिर्ताका वडा अध्यक्ष राधाकृष्ण रौनियार, पूर्व गाविस अध्यक्ष जतन राउत कुर्मी, समाजसेवी छोटेलाल राउत कुर्मी, विद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष अधिवक्ता जितेन्द्रप्रसाद कुर्मीलगायतको विशेष उपस्थिति रहेको थियो।

कार्यक्रमलाई सम्बोधन गर्दै प्रमुख अतिथि लामिछानेले विद्यालयको शैक्षिक गुणस्तर अभिवृद्धिका लागि महानगरपालिकाको सहयोग निरन्तर रहने बताए। उनले औद्योगिक क्षेत्रको बीचमा रहेको विद्यालयको भौतिक पूर्वाधार विकासका लागि आसपासका उद्योग–व्यवसायले आफ्नो सामाजिक उत्तरदायित्व (CSR) अन्तर्गत सहयोग गर्नुपर्ने आवश्यकता औंल्याए।

वडा अध्यक्ष रौनियारले विद्यालयको चौतर्फी विकासका लागि स्थानीय तह, अभिभावक, शिक्षक तथा समुदायबीचको सहकार्य अपरिहार्य रहेको बताए।

कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका पदाधिकारी, शिक्षक–शिक्षिका, अभिभावक तथा विद्यार्थीहरूको उल्लेखनीय सहभागिता रहेको विद्यालयका प्रधानाध्यापक उमेशकुमार मिश्राले जानकारी दिए।

सम्बन्धित पोस्टहरुः