धनुषा, असार २७ —
धनुषाको मिथिला नगरपालिका–९ बडहरीस्थित पूर्व–पश्चिम लोकमार्गमा धनुषाधाम नगरपालिकाकी उपमेयर विद्दा भुजेल सवार सरकारी गाडी र एम्बुलेन्स एकआपसमा ठोक्किँदा ८ जना घाइते भएका छन्।
शनिबार बिहान करिब ६:२० बजे बडहरीबाट विराटनगरतर्फ बिरामी लिएर जाँदै गरेको ना.२ च २३२ नम्बरको एम्बुलेन्स र ढल्केवरबाट बर्दिबासतर्फ जाँदै गरेको प्रदेश २–०२–००१ झ ००८२ नम्बरको सरकारी गाडी ठोक्किएको प्रहरीले जनाएको छ।
दुर्घटनामा एम्बुलेन्स चालकसहित पाँच जना तथा सरकारी गाडीमा सवार चालक, उपमेयर विद्दा भुजेल र भीमराज भुजेल गरी तीन जना घाइते भएका छन्। घाइते सबैको उपचार जानकी मेडिकल कलेज, रमदैया मा भइरहेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार अधिकांश घाइतेको अवस्था सामान्य रहेको छ भने घटनाबारे थप अनुसन्धान भइरहेको छ।






