वीरगंज, असार २७ —
वीरगंज महानगरपालिकाको मुख्य सडक विस्तार अभियानअन्तर्गत एक सातामै करिब ३ सय घर भत्काइएको छ।
सडक डिभिजन हेटौंडाका इन्जिनियर तथा वीरगंजका फोकल पर्सन दुर्गा प्रसादका अनुसार गण्डकदेखि घण्टाघरसम्म र मितेरी पुलदेखि वीरगंज उद्योग वाणिज्य संघको भवनसम्मको क्षेत्रमा उक्त संख्यामा भवन हटाइएको हो।
हाल ६ वटा डोजर परिचालन गरी दैनिक ५० देखि ६० वटा घर भत्काउने काम भइरहेको छ। कुल ८ किलोमिटर सडक विस्तार क्षेत्रमा करिब ६ किलोमिटर भागको संरचना हटाइसकिएको र बाँकी २ किलोमिटर क्षेत्रमा पनि काम निरन्तर जारी रहेको उनले बताए।
बजार क्षेत्रका केही घरधनीले आफ्नै भवनको संरचना आफैं हटाइरहेकाले बाँकी क्षेत्रमा सडक विस्तारको काम सहज हुने सडक डिभिजनले जनाएको छ।







