रौतहट, असार २७ —
रौतहटको कटहरिया नगरपालिका–३ बरेडवामा एक महिलाको शंकास्पद मृत्यु भएपछि श्रीमान्माथि हत्या गरी आत्महत्याको रूप दिन खोजिएको आरोप लागेको छ।
मृतक निशा साहका बुवा रौतहटको ईशनाथ नगरपालिका–जटहरा निवासी रबिन्द्र साह सोनारले ज्वाइँ निरज साह सोनारले छोरीको हत्या गरी घरभित्र झुन्ड्याएर आत्महत्या जस्तो देखाउन खोजेको आरोप लगाएका छन्।
परिवारले घटनाको निष्पक्ष छानबिन गरी दोषीमाथि कडा कानुनी कारबाही गर्न माग गरेको छ। घटनापछि घरका केही सदस्य सम्पर्कविहीन रहेको र फरार भएको आरोप पनि परिवारजनले लगाएका छन्।
घटनाको जानकारी पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर मुचुल्का उठाउने तथा प्रमाण संकलन गर्ने काम सम्पन्न गरेको छ। जिल्ला प्रहरी कार्यालय रौतहटले पोस्टमार्टम प्रतिवेदन र अन्य प्रमाणका आधारमा घटनाको वास्तविकता खुल्ने जनाएको छ।
प्रहरीले घटनामा संलग्न व्यक्तिहरूको खोजी तथा थप अनुसन्धान जारी रहेको जनाएको छ।






